टिप्पणीआइतबार, चैत्र ७, २०७२
देउवाले इतिहास बनाउने हो भने…
तीन पटक प्रधानमन्त्री बनिसकेका देउवा पार्टीकाे नेतृत्वमा पुगेकाले अब माथि जाने ठाउँ पनि सकिएकाे छ । उनले लिने भनेकाे पद नभई उँचाइ हाे ।
उच्च शिक्षा लिन सुदूरपश्चिमबाट काठमाडौं छिरेका शेरबहादुर देउवा विद्यार्थी संगठनहुँदै देशकै पुरानो र ठूलो लोकतान्त्रिक पार्टीको नेतृत्वमा पुगेका छन् ।
उनी नेपाल विद्यार्थी संघको नेतृत्वमा पुगेको ४४ वर्षपछि मूल पार्टी नेपाली कांग्रेसको सभापति निर्वाचित भए । ४४ वर्षअघि र पछिको चुनौतीको दायरा फरक हुने नै भयो ।
२०५२ सालपछि तीनपटक प्रधानमन्त्री बनेका व्यक्ति पार्टी सत्ताको नेतृत्वमा पुगेकाले उनको लागि माथि जाने ठाउँ पनि सकिएको छ । अब उनले लिने भनेको पद नभई उँचाइ हो । यो तहमा पुगेको व्यक्तिले सोच्नुपर्छ– इतिहासमा के लेख्ने ?
नेपाली राजनीतिले एउटा राजनेता उत्पादन गर्न ५० वर्ष खर्चिनुपरेको छ । देउवाले अब राजनेता हुन तीन वटा काम गर्नुपर्नेछ । पहिलो, सधैं विपक्षी भूमिकामा रहेका उनले अब पहिला गरेका प्रश्नहरूको जवाफ तय गर्नुपर्छ ।
दोस्रो, पुरातन र अव्यवस्थित नेपाली कांग्रेसको निर्णय प्रक्रियामा लोकतन्त्रीकरण भएको छैन । लोकतन्त्रवादी हुनु र लोकतान्त्रिक हुनु फरक कुरा हो । लोकतन्त्रवादी पार्टीलाई लोकतान्त्रिक बनाउने अभियान सभापति देउवाले शुरू गर्नुपर्नेछ । र तेस्रोमा छ, सरकार कि प्रतिपक्षमा ? भन्ने प्रश्न ।
माथिका प्रश्नहरूको हल खोज्न सभापति देउवाले केही नवीन काम थाल्नुपर्छ । जस्तो– नीति र नेतृत्वको फरक अधिवेशन, पदसँगै जिम्मेवारी र कार्यकर्तालाई आत्मनिर्भर बनाउने कार्यक्रम । पार्टी र कार्यकर्ता आत्मनिर्भर हुँदा मात्रै देशलाई आत्मनिर्भर बनाउन सकिन्छ ।
‘विद्यार्थी राजनीति– पढाइको बलिदान, कांग्रेसको राजनीति– गृहस्थीको बलिदान’ भन्ने धारणाबाट मुक्त भएर ‘तीन दिन पार्टीका लागि चार दिन रोटीका लागि’ को मान्यता स्थापित गराउनुपर्छ ।
त्यस्तै, प्रतिपक्षमा बस्दा केही गर्न नसकिने र सरकारमा जाँदैमा धेरै काम गर्न सकिने भन्ने हुँदैन । राजनेताको स्तरमा पुग्ने हो भने सभापति देउवाले प्रतिपक्षमै बसेर संविधान कार्यान्वयनमा रचनात्मक भूमिका खेल्नुपर्छ ।
मधेशको असन्तुष्टि हल गर्न दुईबुँदे संशोधन प्रतिपक्षबाट संभव भयो भने सीमांकनलगायतका विषयमा पनि कांग्रेसले रचनात्मक उपाय दिन सक्छ । सरकार संविधानको स्वामित्व बढाउन लचिलो हुँदैन भने चाहिं कांग्रेसले सरकारको नेतृत्व गरेर पनि संविधान कार्यान्वयनको बाटो रोज्नुपर्छ ।
राजनेता बीपी कोइरालासँग सपना थियो, समय भएन । हामीसँग समय छ, सपना भएन । इतिहासमा नाम लेखाउने हो भने देउवाले आज सडकमा हिंडिरहेको युवाको अवस्था डेढ दशकपछि कस्तो हुन्छ ? समृद्ध मधेश कसरी बन्छ ? पहाड कसरी खुशी हुन्छ ? भनेर मनमा गुन्नुपर्छ । डेढ दशकभित्रमा कसैले पनि विदेशबाट बाकसमा फर्कने अवस्था हटेको सपना देख्नुपर्छ ।
बीपीले बाटोघाटो, अस्पताल पुगेको र नपुगेको गरी दुई वटा नेपाल छ भन्नुहुन्थ्यो । त्यो अवस्थाबाट देश अघि बढ्दै गर्दा विभाजनका नयाँ रेखा कोरिन छोडेको छैन । अहिले पनि दुइटा नेपाल छ ।
काठमाडौंमा राजनीतिक संगठनको नेतृत्व गर्ने तन्नेरीको नेपाल र कतारमा पसिना बगाइरहेका युवाको नेपाल । अब पार्टीपिच्छेको होइन, १५ वर्षभित्र एउटै नेपाल बनाउने सामूहिक भिजनसहित साझ दस्तावेज बनाउने कामको नेतृत्व देउवाले गर्नुपर्छ ।
उनको विगत लेखिइसक्यो, वर्तमान देखिंदैछ । अब इतिहास बनाउने अवसर उनको अगाडि छ ।
वार्तामा अाधारित