समाचारआइतबार, चैत्र ७, २०७२

नेतृ शान्ता चौधरी कक्षा ८ को परीक्षा दिँदै

हिमालखबर

लामो समय कम्लहरी जीवन बिताएकी पूर्व सभासद् एवम् एमाले नेतृ शान्ता चौधरीले कक्षा ८ को वार्षीक परीक्षा दिंदैछिन् ।

Shanta Chaudhari @ Exam (4)

तस्वीर: देविका घर्ती मगर

दाङको डाडागाउँ उच्च मावि, गोग्लीमा अध्ययनरत चौधरी कक्षा ८ को जिल्लास्तरीय परीक्षामा सहभागी भएकी हुन् ।

गत वर्ष क्यान्सर रोगको उपचारबाट तंग्रिएकी चौधरी १८ वर्ष कमलहरी (घरेलु कामदार) रहेकी थिइन् ।

२०३७ सालमा जन्मिएकी उनी आठ वर्षको उमेरमै कम्लहरी बनिन्, १६ वर्ष नपुग्दै बिहे भयो । त्यसैले पढन नपाएकी चौधरीले छोराछोरी हुर्काइसकेपछि अहिले फुर्सदको समयमा अध्ययन्लाई अगाडि बढाएकी हुन् ।

कम्लहरी जीवनबाट मुक्त भएसँगै भूमिअधिकार आन्दोलनमा लागेकी शान्ता चौधरी संविधानसभाको निर्वाचन २०६४ मा समानुपातिकतर्फ नेकपा एमालेबाट सभाषद् भएकी थिइन् ।

प्रौढ कक्षा मात्र पढेकी शान्ता संविधानसभाको भवनभित्र छिर्दै गर्दा मुस्किलले आफ्नो नाम लेख्न सक्थिन् । तर, उनको राजनीतिक चेतले गर्दा संसद्मा प्राकृतिक स्रोतसाधन समितिको सदस्य समेत बनिन् ।

सभासद हुँदा नपढेकी भन्दै आफ्नै साथीहरुको हेपाई भोगेकी उनी अहिले त्यही इखले आफ्ना छोराछोरी उमेरका विद्यार्थीहरुसँगै पढिरहेकी छन् ।

नियमित रुपमा स्कुल आउन नसके पनि उनले निकै मेहनत गरेर पढाइलाई अगाडि बढाइरहेको विद्यालयका प्रधानाध्यापक शतिष आचार्यले बताए ।

Shanta Chaudhari @ Exam (9)“उहाँले अहिलेसम्म पढ्न पाउनुभएन त्यसकारण नियमित विद्यार्थीजस्तो उत्कृष्ट भन्न सकिदैन तर, उहाँको पढाई समग्रमा राम्रै छ,” आचार्यले भने ।

सानैदेखीको पढ्ने धोको पुरा गर्न विद्यालय जीवनको शुरुवात गरेको चौधरी बताउँछिन् ।

“विद्यालयको परिक्षामा पहिलोपटक सहभागी हुँदैछु । अलिअलि डर त लागेको छ । तर पास हुन्छु भन्ने चै लागेको छ,” परीक्षामा सहभागी हुनुअघि उनले भनिन् ।

शान्ताका छोरा अनिल अहिले कक्षा ९ को परीक्षा दिइरहेका छन् भने छोरी बिनु कक्षा ७ को ।

छोरासँगै एसएलसी परिक्षा दिने योजनामा रहेकी शान्ता विविध कारणले छोराभन्दा एक वर्ष ढिला हुन पुगिन् ।
उनको आफ्नै जीवनमा आधारित ‘कम्लहरी देखि सभाषद्सम्म’ पुस्तक प्रकाशित छ ।
देविका घर्ती मगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>