समाचारआइतबार, चैत्र ७, २०७२

जिका भाइरसको परीक्षण नेपालमै

हिमालखबर

दक्षिण अमेरिकामा महामारीको रुप लिएको जिका भाइरसको परीक्षण अब नेपालमै हुने भएको छ ।

एडिस नामक लामखुट्टेको टोकाइबाट हुने जिका भाइरसको नेपालमा पनि जोखिम रहेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई जिका भाइरस परीक्षण गर्न ‘पिसिआए किट’अर्थात् पोलिमर चेन रियाक्सन उपलब्ध गराएपछि नेपालमै परीक्षण गर्न सकिने भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा गीता शाक्यले सङ्गठनले नेपाललाई भाइरस जाँचका लागि एक हजार किट उपलब्ध गराएको जानकारी दिइन् । ‘पन्ध्र दिनअघि परीक्षण किट नेपाल आइपुगेको छ, अहिलेसम्म परीक्षणका लागि नमुना भने आएको छैन तर भाइरस भएको शङ्काको अवस्थामा परीक्षण नेपालमै गर्न सम्भव छ,’’ शाक्यले भनिन् ।

डा शाक्यले डेङ्गु र चिकनगुनिया पनि जिका हुने लामखुट्टेबाट नै हुने भएकाले पहिले ती दुई रोगको परीक्षण गरेपछि जिका भाइरसको परीक्षण गरिने बताइन् ।

नेपाल तथा स्वास्थ्य सङ्गठन समेतले जिका भाइरसको सङ्क्रमण देखिएका ल्याटिन अमेरिकी मुलुकमा रहेका नेपाली गर्भवतीलाई अत्यावश्यक काम परेको अवस्थामा बाहेक जोखिमयुक्त मुलुकमा नबसी नेपाल फर्कन वा अन्यत्र बसाइँ सर्न नेपाली दूतावासमार्फत आग्रह गरिसकेको छ ।

सकेसम्म अमेरिका लगायत सङ्क्रमण देखिएका मुलुकमा गर्भ परीक्षण समेत नगराउन आग्रह गरिएको छ ।

रोग नियन्त्रण महाशाखाले सम्पूर्ण चिकित्सकलाई सानो टाउको भएको शिशु जन्मेमा वा एक्कासि लुलो हुने ९गुलेनबारे सिन्ड्रोम० देखिएमा तत्काल खबर गर्न आग्रह गरिसकेको छ ।

जिका भाइरस प्राणघातक नभए पनि यसले गर्भवतीलाई भने प्रत्यक्ष असर पुर्‍याउँछ ।

भाइरस गर्भवतीमा सरेमा गर्भवतीले जन्माएको शिशुको टाउको जन्मजात सानो हुने, बच्चा सुस्तःमनस्थितिको हुने जस्तो समस्या देखिन्छ ।

सन् १९४७ मा युगान्डामा बाँदरमा भेटिएको सो भाइरस सन् १९५४ मा पहिलो पटक मानिसमा देखिएको हो ।

लामो समयसम्म सो भाइरस अन्य व्यक्तिमा नदेखिए पनि सन् २०१५ मा ब्राजिलमा देखिएसँगै महामारीका रुपमा २४ देशमा फैलिसकेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>