थप समाचारमंगलबार, चैत्र ९, २०७२
होलीमा पाँच हजार प्रहरी परिचालित
होली पर्वका नाममा हुने अवाञ्छित गतिविधि रोक्न काठमाडौं उपत्यकामा पाँच हजार प्रहरी परिचालित भएका छन् । महानगरीय ट्राफिक महाशाखाको संयोजकत्वमा होली पर्व विशेष एकीकृत सुरक्षा योजना अन्तर्गत सुरक्षाकर्मी परिचालित भएका हुन ।
उपत्यकामा प्रहरीले विहानैदेखि चेकजाँचको तयारी गरेको छ । उपत्यकाका ९० भन्दा बढी स्थानमा डीएसपीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जाँच गर्ने ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले जानकारी दिए ।
जबर्जस्ती रंग हाल्ने, लोला हान्ने लगायतका अवाञ्छित गतिविधि गर्नेलाई १० हजार रुपैयाँ जरिवानादेखि १ वर्षसम्म जेल सजाय सम्म गरिने प्रहरीले जनाएको छ ।
होलीको नाममा मद्यपान–धूमपान गर्ने, विना हेलमेट वा दुई जना भन्दा बढी बसेर मोटरसाईकल चलाउने जस्ता कार्यरोक्न प्रत्येक चोकमा प्रहरीको मोबाइल टोली परिचालित भएका छन् ।
राष्ट्रपति र उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपतिले ९ चैतमा दिएको शुभकामना सन्देशमा भनिएको छ, “विविधताले भरिपूर्ण सिङ्गो नेपाली संस्कृति आफैँमा मौलिक, समृद्ध रहेको छ, यस पर्वले सबै नेपालीमा खुसीका रङहरु छर्दै नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैल्याउन सकोस् र सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण राख्न सकोस् ।”
यस्तै गरी उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा जारी शुभकामना सन्देशमा शरद् ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद् समयमा आउने यस पर्वले सम्पूर्ण नेपालीलाई एक सूत्रमा जोड्दै आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न तथा आपसी मेलमिलापको वातावरण सिर्जना विश्वास व्यक्त गरिएकाे छ ।