समाचारमंगलबार, चैत्र ९, २०७२
गौडा माविका विद्यार्थीसँग राजकुमार ह्यारी
बेलायती राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ह्यारीले लमजुङको देउरालीबाट डेढ घन्टा पदयात्रा गरी ओखरे आइपुगेका छन् ।
ह्यारीलाई स्थानीयवासीले गुरुङ र तामाङ नाचले स्वागत गरेका थिए । राजकुमार ह्यारीले गौडा मावि ओखरेका विद्यार्थीसँग भलिबल खेल्दै छन् ।
राजकुमार ह्यारीले १२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्याएको गौडा माविको अवलोकन गरे । गोरखा कल्याणकारी योजनाले यस क्षेत्रमा भत्किएका संरचनाको पुनःनिर्माण गर्दैछ ।
सूर्योदयको अवलोकन
यसअघि राजकुमार ह्यारीले लम्जुङमा बिहानको सूर्योदयसँगै हिमाली दृश्य अवलोकन गरेका थिए ।
उनले सूर्योदयलगायतका मनोरम हिमाली दृश्यलाई आफ्नो निजी मोबाइलले खिचे ।
नेपालको औपचारिक पाँच दिने भ्रमणमा ६ चैतमा राजधानी काठमाडौँ आइपुगेका ह्यारी हिजो लम्जुङ जिल्लाको गौँडा गाविसस्थित लेउरानीमा बास बसेका थिए ।
उनले दोस्रो विश्वयुद्धमा गोर्खा सैनिकका तर्फबाट सो गाउँबाट सहभागी स्व गन्धुराम तामाङको घरमा बसी उनकी श्रीमती मङ्गली तामाङसँग बेलुकाको खाना खाएका थिए ।
८ चैत बेलुकाको असिना पानीले एक्कासि चिसो बनेको वातावरण भए पनि राकुमार ह्यारी बिहानै ५ बजे उठी हिमाली दृश्यको अवलोकन गरेका थिए ।
आजै पोखरा जाने
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीका अनुसार पोखरा लामाचौरस्थित बिट्रिस क्याम्पमा हुने एक समारोहमा सहभागी हुन राजकुमार ह्यारी आज पोखरा जाँदैछन् ।
समारोहमा सहभागी भई ह्यारी आजै काठमाडौं फर्कने कार्यक्रम रहेको रेग्मीले जानकारी दिए ।
यसअघि ह्यारी हिजो बर्दिया राष्ट्रिय निकुन्ज पुगी त्यहाँ जलयात्रा गर्नुका साथै संरक्षणको अवस्थाबारे जानकारी लिएका थिए