समाचारमंगलबार, चैत्र ९, २०७२
ब्रसेल्स विमानस्थलमा विष्फोट
बेल्जियमको राजधानी ब्रसेल्सको जाभेन्टम विमानस्थलमा दुईवटा बम विष्फोट भएपछि विमानस्थल बन्द गरिएको छ ।
विमानस्थलको प्रस्थान हलमा मंगलबार विहान भएको विष्फोटबाट १३ जनाको मृत्यु भएको र करिब ३० जना घाइते भएको स्थानीय समाचार एजेन्सी बेल्गाले जनाएको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
बम विष्फोट लगत्तै अरबी भाषामा चिच्याएको आवाज सुनिए पनि स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
त्यसलगत्तै ब्रसेल्सको मेट्रो स्टेशनमा समेत विष्फोट भएको छ । अहिले ब्रसेल्सका सबै मेट्रो स्टेशन बन्द गरिएका छन् ।
विमानस्थलका सबै फ्लाइटहरु रद्द गरी बन्द गरिएको विमानस्थल स्रोतलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।
सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीरहरुमा विमानस्थलको एउटा टर्मिनलबाट धुवाँ मुस्लो उड्दै गरेको देखिएको छ ।
पेरिस आक्रमणका मुख्य अभियुक्तलाई पक्राउ गरिएको चार दिनपछि घटना भएको सञ्चारमाध्यमहरुले उल्लेख गरे पनि हालसम्म विष्फोट कसले र किन गरायो भन्ने थाहा हुन सकेको छैन ।