समाचारमंगलबार, चैत्र ९, २०७२
नेपाल ‘एक चीन’ नीतिप्रति पूर्ण प्रतिबद्ध: प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एक चीन नीतिप्रति पूर्ण रुपमा प्रतिबद्ध रहेको र त्यसलाई व्यवहारमा पनि कार्यान्वयन गर्दैआएको बताएका छन् ।
चीनको बेइजिङस्थित रेनमिन विश्वविद्यालयद्वारा आज आयोजित ‘वान बेल्ट–वान रोड इनिसिएटिभ्स’ को सन्दर्भमा एक विद्वत गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सार्वभौम समानता, अहस्तक्षेप र एकअर्काको संवेदनशीलताप्रतिको आदरबाट दुई मुलुकको स्थिर मित्रता निर्देशित रहेको बताए ।
“त्यसैगरी, नेपालको सार्वभौमिकतालाई जनगणतन्त्र चीनले सम्मान दर्शाउँदै आएको छ र नेपालको विकास प्रयासलाई सघाउँदै आएको छ । हाम्रा दुई मुलुक सुख र दुःखका बेलाका सदाबहार मित्र हुन्,” ओलीले भने ।
नेपालको भौतिक पूर्वाधार निर्माणका परियोजनाहरुका लागि चीनले गरेको उदार सहायताले नेपालको विकास प्रयासलाई सघाएको भन्दै उनले चिनिया कम्पनीहरुको लगानी र आर्थिक सहयोगलाई थप उचाइमा लानुपर्नेमा जोड दिए ।
चीन नेपाली विद्यार्थीका लागि एउटा सुगम र महत्वपूर्ण गन्तव्यका रुपमा विकास हुँदै गएको बताउँदै उनले भने, “चीनमा अध्ययनरत नेपाली विद्यार्थीको बढ्दो सङ्ख्याले ज्ञानको आदानप्रदान, सिप विकास र साझा भविष्यको सम्भाव्यतालाई चहकिलो बनाएको छ । “
“अल्पविकसित अर्थतन्त्रयुक्त भूपरिवेष्टित राष्ट्र नेपालसामु मुलुकलाई समृद्ध बनाउने थुप्रै चुनौतीहरु विद्यमान छन् । हामीलाई लगानी अभिवृद्धि गर्न, स्रोत उपयोग गर्न, प्रविधि र नवीन रणनीतिहरुको विकास गर्न जरुरी छ । लगानीले हाम्रा बाध्यतालाई सहज बनाइदिनेछ, स्रोतले उत्पादनशील आधार खडा गर्ने छ र प्रविधिले विकासलाई गतिवान् बनाइदिनेछ,” ओलीले भने ।
लगानीका लागि नेपाली बजार खुला रहेको बताउँदै उनले भने, “भूबनोटका कारण सिर्जित अवरोधलाई वन बेल्ट वन रोड अभियानले सहज पार्ने मेरो विश्वास छ ।’’
उनले भने, ‘‘वन बेल्ट वन रोड अभियान समृद्धिको सहयोगात्मक आयामहरु भेटाउने, साझा सरोकारलाई मुखरित गर्ने र सहयोगलाई गहिरो बनाउने सम्पर्क स्थापित गर्ने हाम्रा सम्भाव्यताहरुको ढोका खोल्ने मुख्य कदम हो ।” रासस