Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
यसरी ठगियो पेट्रोलमा - Himalkhabar.com

रिपोर्टबुधबार, चैत्र १०, २०७२

यसरी ठगियो पेट्रोलमा

लोकमणि राई

विराट पेट्रोलियमले आयात गरेको पेट्रोल रु.१३० मा बेचेको भन्दै २८ फागुनमा युवासंघले तीनकुनेस्थित भ्याली रिकेश सप्लायर्सको पेट्रोलपम्पमा ताला लगाइदिएपछि सिक्किममा रहेका अर्जुन क्षेत्री भोलिपल्टै काठमाडौं आएर दरबारमार्गको उडल्याण्ड होटलमा राति १ बजेसम्म बैठक गरे।

अर्जुन क्षेत्री

अर्जुन क्षेत्री

३० फागुनमा अनुगमनका लागि आपूर्ति मन्त्रालयअन्तर्गतको उपभोक्ता हित संरक्षण विभागको टोली तीनकुनेको पेट्रोलपम्प पुग्दा नेपाल आयल निगमले तोकेकै मूल्य प्रति लीटर रु.९९ मा पेट्रोल बिक्री भइरहेको पायो।

उडल्याण्ड होटलमा भएको बैठकमा आपूर्तिमन्त्री गणेशमान पुन र आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का पनि सहभागी भएको स्रोतको दाबी छ (मन्त्री पुन त्यो राति १२ बजेसम्म पुल्चोकस्थित मन्त्री क्वाटरमा थिएनन्)।

बैठकमा पुन र खड्काले विरोध धान्न नसकिने निष्कर्ष निकालेपछि बाँकी ११ हजार लीटर पेट्रोल निगमकै भाउमा बेच्ने निर्णय भएको स्रोत बताउँछ। त्यसअघि विराट पेट्रोलियमले २९ फागुनसम्म १ लाख २१ हजार ६६० लीटर पेट्रोल रु.१३० मा बेचेर रु.५९ लाख कमाइसकेको थियो।

यो दोस्रो खेपको कारोबारमा विराटलाई एक लीटर पेट्रोलमा रु.४८.५४ नाफा भयो। यद्यपि विराटले सार्वजनिक गरेको अनुमानित नाफा/नोक्सान विवरणमा भने मूल्य अभिवृद्धिकर बाहेक प्रति लीटर रु. १४९.५३ मा मात्रै पेट्रोल उपलब्ध गराउन सक्ने जनाएको छ। (हे.इन्फोग्राफिक्स) अब प्रश्न उठ्छ सिक्किमदेखि आएको विराट काठमाडौंमा घाटाको व्यापार गर्न किन लालायित छ?

विराटले त्यसअघि नै पहिलो पटक ल्याएको एक लाख लीटर पेट्रोल प्रति लीटर रु.१९९ मा बेच्ने अनुमति पाएको थियो। त्यो तेल होटल, अस्पताल जस्ता ठूला उपभोक्तालाई महँगोमा बेचेर विराटले कम्तीमा रु.१ करोड १७ लाखभन्दा बढी नाफा गरेको थियो।

क्षेत्रीको कारोबार र ‘कनेक्सन’
तीनकुनेको अन्नपूर्ण टावरमा रहेको विराट पेट्रोलियम क्षेत्रीका छोराहरू निरज र कैलाश, भतिजा प्रकाश, साला विनोद पाण्डे र विश्वासपात्र परशुराम उप्रेतीका नाममा दर्ता छ।

भारतीय नाकाबन्दीको मौका छोपेर महँगोमा पेट्रोल बेचेर आम उपभोक्तालाई ठगी गरेको विवादमा तानिएको विराट पेट्रोलियम यसअघि नेपालमा संभव नभएको पेट्रोलियम प्रशोधन प्लान्ट स्थापनाको अनुमति मागेपछि चर्चामा आएको थियो।

२३ असार २०६५ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको यो कम्पनीले प्लान्ट स्थापना गर्न आवेदन दिएपछि बाबुराम भट्टराई नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्तिमन्त्री रहेका लेखराज भट्टले पेट्रोलियम तथा ग्याँस कारोबार नियमन आदेश–२०६९ बनाएर सहज पारिदिएका थिए।

चर्को विवादमा परेको त्यो नियमन आदेशमा सम्बद्ध कर्मचारीतन्त्रको चलाखीमा प्रशोधन प्लान्टका लागि चुक्ता पूँजी नै २० अर्ब चाहिने प्रावधान राखिदिएपछि क्षेत्रीको योजना तुहिएको थियो।

भारतको अहमदावादमा क्षेत्रीको पेट्रोलियम पदार्थजन्य फोहोर प्रशोधन गर्ने विराट पेट्रोलियम नामको कम्पनी छ। उनले कच्चा पेट्रोलियम भन्दै त्यहींबाट प्रयोग भइसकेको पेट्रोलियम पदार्थ ल्याएर प्रशोधन गरी गुणस्तरहीन पेट्रोलियम बेच्ने योजना बनाएको जानकारहरू बताउँछन्।

एमाओवादीकै गणेशमान पुन आपूर्तिमन्त्री छन्, अहिले। पुन र भट्ट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निकट नेता हुन्। द्वन्द्वकालमा अध्यक्ष दाहालकी एक छोरीको बिहे क्षेत्रीकै सिक्किमको रम्फूस्थित जेठी श्रीमती बस्ने घरबाट उनकै खर्चमा भएको थियो। २०६३ पछि मात्र क्षेत्री नेपाल आउन थालेको बताउने एक जना पेट्रोलियम व्यवसायी भन्छन्, “उनी हरेक पटक नेपाल आउँदा एमाओवादी अध्यक्षलाई केही न केही उपहार ल्याइदिन्छन्।”

ती व्यवसायीका अनुसार क्षेत्रीको पुर्ख्यौली घर भोजपुर हो भने थर दाहाल। आसाममा जन्मेका क्षेत्री ११ वर्षको हुँदा बुबाआमा बितेपछि गाडी वर्कशपमा हेल्पर बने। त्यसपछि ट्रकको सहचालक हुँदै पेट्रोल ट्यांकरको ड्राइभर बने।

त्यसपछि ट्यांकर मालिक बनेका उनी छोटो समयमै पेट्रोलियम व्यवसायीका रूपमा स्थापित भए। उनका भारतमा डेढ दर्जन पेट्रोलपम्प र करीब पाँच दर्जन ट्यांकर सञ्चालनमा छन्।

Lokmani.inddइन्धन ठगीमा अर्को ‘नेक्सस’
अभावको मौका छोपेर महँगोमा विराटले भन्दा धेरै इन्धन बेच्ने अर्को कम्पनी हो– पेट्रोलिमेक्स नेपाल प्रालि। पेट्रोलिमेक्सले भारतबाट लीटरको ३१ रुपैयाँ ४२ पैसामा ३० लाख लीटर हवाई इन्धन ल्याएर आयल निगमलाई १८० रुपैयाँ ३२ पैसामा बेचेको थियो। त्यसबाट उसले रु.१५ करोड फाइदा गर्‍यो।

“स्वराज माज्दा गाडीको नेपालस्थित अधिकृत बिक्रेता रोहिणी थपलिया आएर प्रबन्ध निर्देशकलाई भेटेपछि त्यो कारोबार भएको थियो”, निगमका एक अधिकारी भन्छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका सम्धी थपलिया पेट्रोलिमेक्सको साझेदार भने हैनन्। तत्कालीन दरबारलाई रिझाएर आफ्नो कम्पनी पद्मश्री फर्निचरका लागि ‘शाही’ चिह्न समेत हासिल गर्न सफल थपलिया हतियारलगायतका विभिन्न वस्तुहरू सेनालगायत सरकारी निकायलाई बिक्री गराउने चर्चित विचौलिया (कमिसन एजेन्ट) हुन्।

यो कम्पनीमा प्रदीपशमशेर जबरा र नवीन तुलाधरको बराबर रु.२५ करोड ५० लाख लगानी छ। जबरा कांग्रेस सभापति शेरबहादुर देउवाका साला हुन् भने ढुंगेअड्डामा घर भएका तुलाधर करोडमा लगानी गर्न सक्ने हैसियतका मानिंदैनन्। एक व्यवसायी भन्छन्, “कुनै कम्पनीमा उहाँको २५ करोड ५० लाख रुपैयाँ लगानी छ भने त्यो अरूकै पैसा हो।”

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सुशील कोइराला नेतृत्वको सरकारमा सुनिलबहादुर थापा आपूर्ति मन्त्री बनेपछि २४ असार २०७१ मा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको जबराको पेट्रोलिमेक्स र आयल निगमको हवाई इन्धन कारोबारलाई छानबीनको विषय नमानेको अख्तियारले त्यसमा ‘कानूनी प्रक्रिया पुगेको’ बताएको छ।

धनकुटाको फलाँटे पुर्ख्यौली घर भएका अख्तियार प्रमुख कार्की पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाका मावली खलकका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका सूर्यबहादुरका छोरा सुनिल थापाले गोपालबहादुर खड्कालाई आयल निगमको प्रबन्ध निर्देशकमा नियुक्त गरे। राप्रपाकै सिफारिशमा अख्तियारका आयुक्त बनेका दीप बस्न्यात खड्काका सम्धी हुन्।

निगमका प्रबन्ध निर्देशक खड्का र अख्तियारका प्रमुख आयुक्त कार्कीबीचको सम्बन्ध भने खड्काकै मिहिनेतबाट बनेको कार्की परिवारलाई नजिकबाट चिनेका एक व्यक्ति बताउँछन्। उनका अनुसार, सडक विभागको काठमाडौं डिभिजन प्रमुख हुँदा खड्काले बानेश्वरस्थित कार्की निवासको गेटसम्म सडक कालोपत्रे गरिदिएका थिए।

“सडक विभागमा हुँदा भ्रष्टाचारमा मुछिएर बदनाम बनेका खड्कालाई आयल निगमको प्रबन्ध निर्देशक बनाउन प्रमुख आयुक्त कार्कीले पनि भूमिका खेले”, नाम उल्लेख गर्न नचाहने ती व्यक्ति भन्छन्।

डिपो भाडामा
अख्तियारले कम्पनीको घाटा पूर्ति नभई कर्मचारीले बोनस खाएको भन्दै २०७० असोजमा आयल निगमका चल्तापुर्जा कर्मचारीहरूलाई थुनेरै छानबीन गरेको थियो। अदालतमा अख्तियार हारेको त्यो मुद्दाको जन्म भने निगमका डिपोहरू निजी क्षेत्रलाई भाडामा दिन व्यवस्थापन तयार नहुँदा भएको थियो।

“त्यो वेला राजनीतिक नियुक्तिमा आएका देवी बरालले संचालक समिति बैठकमा निगमको डिपो भाडामा दिनुपर्ने प्रस्ताव राखेका थिए”, नेपाल आयल निगम कर्मचारी संघका अध्यक्ष देवी न्यौपाने भन्छन्, “सञ्चालक समिति बैठकमा कर्मचारीको प्रतिनिधित्व गरेको मैले पनि त्यसको विरोध गरें।”

त्यसपछि भएको बाझ्ाबाझ्मा ती सदस्यले ‘अख्तियार लगाएर थुनाइदिन्छु’ भन्दै धम्क्याएको न्यौपाने बताउँछन्। नभन्दै, त्यसको केही दिनमै बोनस काण्डमा उनीलगायतका कर्मचारी थुनिए। व्यावसायिक सूत्रहरूका अनुसार, आयल निगमको डिपो निजी क्षेत्रलाई भाडामा दिने सम्बन्धमा हालसालै पनि दरबारमार्गको उडल्याण्ड होटलमा दुई पटक ‘उच्च तहको बैठक’ बसिसकेको छ।

पुनले आपूर्तिमन्त्री बनेको एक महीनापछि डिपो भाडामा दिन सकिने/नसकिने सम्बन्धमा व्यवस्थापनसँग जानकारी मागेको निगम स्रोत बताउँछ।

एमाओवादीका मजदूर नेता गणेश रेग्मी संचालक रहेको ‘आर्यन’ नामक कम्पनी र पूर्व राजा ज्ञानेन्द्रका ज्वाईं राजबहादुर सिंहको रु.५० करोड लगानीमा दीपकराज तिमिल्सिनाले खोलेको मालिका पेट्रोलियमले पनि डिपो भाडामा लिन पहल गरेको निगम स्रोतको भनाइ छ। “हामीले हुँदैन भनिसकेका छौं”, स्रोत भन्छ, “माथिल्लो तहबाट दिने प्रयत्न भए निगममा आन्दोलन हुन सक्छ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>