समाचारबुधबार, चैत्र १०, २०७२
प्रमको चीन भ्रमणः १५ बुँदे संयुक्त वक्तव्य जारी, इन्धन ब्यापार गर्ने सहमति
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई मुलुकबीच भएको १० बुँदे सम्झौतासहितको १५ बुँदे संयुक्त वक्तव्य जारी भएको छ ।
दुवै देशका प्रधानमन्त्रीद्वारा हस्ताक्षरित वक्तव्यमा इन्धनको व्यापारका लागि सम्झौता गर्न दुबै देश सहमत भएको र यसका लागि सम्वद्ध कम्पनीहरुलाई छलफल अघि बढाउन तथा मूल्य, कर, ढुवानी, गुणस्तर नियन्त्रण, भन्सारबारे निर्णयमा पुग्न भनिएको छ ।
नेपालमा इन्धन भण्डारण स्थल निर्माणका लागि पनि दुबै पक्ष तयार भएका छन् । चीनले नेपालमा रेल्वे सेवाको सम्भाव्यता अध्ययन र डीपीआरका लागि आर्थिक–प्राविधिक सहयोग गर्ने भएको छ ।
प्रस्तावित रसुवागढी–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनीको रेल्वे सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवदेन (डीपीआर) का लागि चीनले आर्थिक र प्राविधिक सहयोग गर्ने संयुक्त वक्तव्यमा स्पष्ट पारिएको छ ।
त्यसैगरी उर्जामा सहकार्यका लागि दीर्घकालीन संयन्त्र बनाउन नेपाल र चीन सहमत भएका छन् ।
अरुण किमाथांका हाइड्रो, रसुवागढी–केरुङ चार सय केभी क्षमताको अन्तरदेशीय प्रशारण लाइन र काठमाडौं–खाँदवारी–धनकुटा रोड दुई लेनको बनाउन सम्भाव्यता अध्ययन तथा डीपीआरका लागि चीनले आर्थिक र प्राविधिक सहयोग गर्ने छ ।
काठमाडौं उपत्यकामा चक्रपथ विस्तारको पहिलो चरणको कामलाई तीव्रता दिन, दोस्रो चरणको सम्भावता अध्ययन गर्न र अरनिको राजमार्ग मर्मत गर्न चीन तयार भएको छ ।
यस्तै नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न चीनले प्रोत्साहन गर्ने, क्रस बोर्डर इकोनोमिक जोन बनाउने, अरु भन्सार नाकाहरु खोल्दै जाने र हालै भएको पारवहन सम्झौता कार्यान्वयन तथा सीमा व्यवस्थापनका लागि छलफल अघि बढाउने, चीनले नेपालको भूकम्प प्रभावित क्षेत्रको २५ परियोजनाका लागि सहयोग गर्ने र ३ बिलियन आरएमबी अर्थात करिव ५० खर्ब रुपैयाँ २०१६–०१८ मा खर्च गर्ने लगायतका विषयहरु पनि संयुक्त वक्तव्यमा परेका छन् ।
त्यस्तै वक्तव्यमा चीनले नेपालको नयाँ संविधानको स्वागत गर्दै यसलाई नेपालले राजनीतिक स्थिरता र आर्थिक विकासका लागि अवसरका रुपमा सदुपयोग गर्न सकोस् भन्ने कामना गरिएको छ ।
दुई देशले एक अर्को देशका स्वतन्त्रता, स्वाधिनता र भौगोलिक अखण्डतालाई सम्मान गर्दै एकअर्काको चासो र हितलाई सम्बोधन गर्ने संयुक्त वक्तव्यमा उल्लेख छ ।
नेपालले एक चीन नीतिप्रति प्रतिवद्धता जनाएको छ भने दुई देशवीचको सम्बन्ध नयाँ उचाईमा पुगेको ठहरसहित दुई देशबीच विकास र सम्बृद्धिका नयाँ सम्भावनाहरु खुलेको भन्दै संयुक्त विज्ञप्तिमा समानता र आपसी हितका आधारमा दुबै देशका जनतालाई फाइदा पुग्ने गरी अघि बढ्ने प्रतिबद्धता व्क्त गरिएको छ ।