ब्लगबिहीबार, चैत्र ११, २०७२
बीपीको पुनर्व्याख्या
मैले एउटा बाटो पक्रिसकेको छु। त्यो बाटो कष्टतीर्ण छ। त्यस बाटोमा रगत, पसिना र विश्रान्ति बाहेक केही छैन।
(मार्च १९४५)
मलाई नेपाली जनताले श्रेय दिन चाहन्छन् भने मैले आफ्नो बुताबाट मिथ्या धारणा सिर्जना गरें भनेर नदिउन्। मलाई श्रेय दिनु छ भने मैले देशभित्र देशको सामर्थ्यलाई बुझेको रहेछु र देशको सामर्थ्यलाई मुखरित गर्ने कोशिश गरेको रहेछु भनेर दिउन्।
(जेठ २०३९)
राजनीतिको शुरुआत र अन्त्यमा बीपी कोइरालाले बोलेका यी हरफ उनको जीवनको लक्ष्य र सार्थकता पुष्टि गर्न पर्याप्त छन्। बीपी नेपालमा सर्वाधिक शोध गरिएका राजनेता हुन्, जसबारेको खोजी अद्यापि जारी छ।
बीपीको जन्मशताब्दी र उनले स्थापना गरेको नेपाली कांग्रेस पार्टीको १३औं महाधिवेशनको मेसो पारेर यस्तै अर्को खोज ‘विश्वेश्वरप्रसाद कोइरालाः प्रतिनिधि संकलन’ पुस्तक प्रकाशित भएको छ। पुस्तकको प्रधान सम्पादकका रुपमा छन्, प्रदीप गिरि।
अनेक विचारधारामा विभाजित नेपालका राजनीतिज्ञहरूका लागि निधनको तीन दशकपछि पनि बीपी साझा प्रस्थानबिन्दु बनिरहेका छन्। प्रतिफल, कांग्रेसकै कतिपय नेता र अरु थुप्रै बीपी विचार बुझेको भन्दै अपव्याख्यामा मग्न छन्। बीपीको आत्मवृत्तान्त; जेलजर्नल; राजा, राष्ट्रियता र राजनीति; फेरि सुन्दरीजल लगायतका कृतिको प्रकाशनपछि पनि व्यक्तिपिच्छेका फरक बुझाइ रोकिएको छैन।
२०६६ मा प्रकाशित ‘बीपी कोइराला राजनीतिक अभिलेख’ पुस्तकको सम्पादकीयमा गिरिले बीपीका राजनीतिक विचारमा देखापरेका उतारचढावको व्याख्याको कोशिश गरेका थिए।
अहिले उनैले ‘विश्वेश्वरप्रसाद कोइराला, प्रतिनिधि संकलन’ मार्फत बीपीको पुनर्व्याख्याको प्रयत्न गरेका छन्, थप सामग्रीलाई आधार बनाएर। ‘बीपीका सम्पूर्ण रचनावली प्रकाशन नहुँदासम्म उनीबारे गरिने टिप्पणी र आलोचना अपूर्ण र अन्तरिम हुन्”, पुस्तकमा रहेको ३६ पृष्ठ लामो विचारोत्तेजक सम्पादकीयमा गिरि भन्छन्।
यो संकलनमा बीपीका राजनीतिक अभिलेख अतिरिक्त साहित्य र साहित्यकारप्रतिको धारणा, अलबर्ट कामुको दर्शन पनि अटाएका छन्। बीपीका पत्राचारहरूलाई महत्वका साथ प्रकाशित गरेर उनको पत्राचार मोहलाई पनि न्याय गरिएको छ।
पुस्तकको शुरुआत नै बीपीले धर्मपत्नी सुशीला कोइरालालाई लेखेको पत्राचारबाट शुरु हुन्छ। तारिणी भाइदेखि सुवर्णशमशेर हुँदै राजा वीरेन्द्रलाई लेखेका चिठीले बीपीको मनोविज्ञान बुझ्न सघाउँछन्।
२३ कात्तिक २०३४ मा पक्राउ परेपछि बीपीले विशेष अदालतमा दिएको वयानको बरोबर चर्चा भइरहन्छ। तर, पुस्तकले गणेशमानको अदालती बयानलाई पनि अनुसूचीमा स्थान दिएको छ।
बीपी र गणेशमानका बयान परस्पर विरोधी देखिए पनि उनीहरूमा देखिएको घटनाप्रतिको जिम्मेवारीबोधले जो–कोही क्रान्तिकारी युवाको शिर ठाडो पारिदिन्छ। नेपाल–भारत सम्बन्ध, कोशी सम्झौतासँगै बीपीका प्रतिनिधि भाषण र लेख पनि पुस्तकमा संग्रहित छन्।
‘नेपाललाई हिन्दू राज्य भन्नु झेली हो’ भन्ने बीपीको चर्चित अन्तर्वार्ता समेटिनुले पुस्तकको ओज बढाएको छ। बीपीको व्यक्तित्व विकासका अनेकन् पाटो र पहलु जान्न र बुझ्न पुस्तक अत्यावश्यक संग्रह बनेको छ। किरण मानन्धरको बीपीको आवरण चित्रकलाले पुस्तकमा सौन्दर्य थपेको छ।
थोरै समय गृहमन्त्री र प्रधानमन्त्री हुँदा बाहेक बीपीको बाँकी जीवन जेल, निर्वासन र प्रतिबन्धमै वितेकाले उनका सम्पूर्ण रचनावली प्रकाशन गर्न सम्भवतः कठिन भयो।
बीपीका ऐतिहासिक विचार, सिर्जना निजी संग्रहदेखि पुस्तकालयका अन्तरकुन्तरमा थन्किनु कोइराला परिवार र कांग्रेस पार्टीका लागि लज्जाको विषय हुनुपर्ने हो। बीपीको नाममा पारिवारिक उत्तराधिकारीले बनाएका ट्रष्टहरूले त्यो दिशामा तदारुकता देखाउने छन् भनी आशा मात्र गर्न सकिन्छ।
सत्ता राजनीतिमा कोइरालाहरूबाट दरकिनार गरिएका भए तापनि बीपी विचारधाराको सुरक्षित संग्रहण, सामयिक व्याख्यामा गिरिले पुर्याएको योगदान कसैले नजरअन्दाज गर्न सक्दैन। पुस्तकले गिरिलाई बीपी विचारका जीवन्त व्याख्यानकर्ताका रुपमा दर्ज गरिदिएको छ।