समाचारबिहीबार, चैत्र ११, २०७२
शान्ति र गरिबी सँगसँगै जाँन सक्दैनन्: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति र गरिबी सँगसँगै जान नसक्ने उल्लेख गर्दै एशियाको समग्र विकास र उत्थानमा सबैको साथ र सहयोग जरुरी रहेको बताएका छन् ।
आज ११ चैतमा बोआओ सम्मेलनलाई सम्बोधन गर्दै उनले कुनै पनि एशियाली मुलुक पछाडि पर्योम भने एशियाको शान्ति र समृद्धिको सपना विफलतामा परिणत हुने बताए । प्रधानमन्त्री ओलीले भने, “गल्ती नगरौं । विकास सहभागितामूलक हुन सकेन भने एशियाको दिगो विकास छिन्नभिन्न हुन पुग्नेछ ।”
सामूहिक प्रयत्न र सहयोगका अवसरहरुको खोजीले मात्रै ज्ञानको स्वतन्त्र प्रवाह, निर्वाध व्यापार र सबैले जित्ने अवसर सिर्जना गर्ने भन्दै एशियाले तय गर्ने दूरदृष्टि समावेसी हुनुपर्नेमा जोड दिए ।
“एशियामा बजार विस्तार भइरहेका छन्, उद्योग व्यापार फस्टाइरहेका छन्, रोजगारी सिर्जना भइरहेको छ । एशियामा महादेश गरिबीबाट बाहिर निस्किने चरणमा पुगेको छ । तर पनि यस क्षेत्रको जनसङ्ख्याको ठूलो हिस्सा गरिबी र अभावको चङ्गुलभित्रै रहेको छ,’’ ओलीले भने ।
एशियालाई नयाँ दृष्टिकोण र आयामहरुका साथ सुनौलो भविष्यतर्फ अघि बढाउन प्रधानमन्त्री ओलीले त्यसका लागि क्षेत्रीय सहयोग र सहकार्य जरुरी रहेको बताए ।
जननिर्वाचित संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको र त्यसलाई मित्रराष्ट्रहरुबाट स्वागत गरिएकामा प्रधानमन्त्री ओलीले आभार पनि प्रकट गरे ।
चीन भ्रमणमा रहेका ओलीले आजै नान्सान पार्कस्थित नेपाल ‘पभेलियन’को अवलोकन पनि गरेका छन् । त्यसपछि उनी सियानका लागि उड्नेछन्।
सियानमा १२ चैतमा ओलीले त्यहांको चिकित्सा विश्वविद्यालयको भ्रमण गर्नुका साथै लगानी गोष्ठीलाई पनि सम्बोधन गर्नेछन्।
१२ चैतमा चेङ्दु उड्ने उनले त्यसको भोलिपल्ट वेनचुवानस्थित भूकम्प पुनर्निर्माण स्थलको अवलोकन गर्नेछन्।
ओली आइतबार, १४ चैतमा स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
