समाचारबिहीबार, चैत्र ११, २०७२

म्यानपावर व्यवसायीको आन्दोलन असफलतातर्फ

हिमालखबर

वैदेशिक रोजगार व्यवसायी सङ्घले गत फागुन २३ गतेदेखि अनिश्चितकालका लागि कामदार विदेश पठाउन बन्द गरेर सुरु गरेको आन्दोलन असफलतातर्फ उन्मुख भएको छ ।

प्रहरीले गत १२ फागुनमा १८ वटा म्यानपावर कम्पनीमा छापा मारेर केही सञ्चालकलाई पक्राउ गरेपछि त्यसको विरोधमा सङ्घले २३ फागुनदेखि पूर्व र अन्तिम श्रम स्वीकृति रोकेर भद्र अवज्ञा आन्दोलन गर्ने घोषणा गरे पनि व्यवसायीहरु भित्रभित्रै भने धमाधम श्रम स्वीकृति लिइरहेका छन् ।

वैदेशिक रोजगार कार्यालय, काठमाडौँका अनुसार व्यवसायीले काम बन्द गरेको २३ फागुनपछिको अवधिमा मात्रै संस्थागत र व्यक्तिगत गरेर २४ हजार ४२१ जनाले श्रम स्वीकृति लिएका छन् ।

सो अवधिमा म्यानपावरमार्फत संस्थागत रुपमा १० हजार ४३२ जनाले श्रम स्वीकृति लिएका छन् ।

६ हजार ११२ पुरुष र २९१ महिला गरी ६ हजार ४०३ जनाले पूर्व स्वीकृति लिएका छन् भने सोही अवधिमा ३ हजार ७४७ पुरुष र २४६ महिला गरी ४ हजार २९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

यो अवधिमा व्यक्तिगततर्फ १३ हजार ४०३ पुरुष र ५४६ महिला गरी १३ हजार ९८९ जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार कार्यालय, काठमाडौँका प्रमुख मधुविलास पण्डितले आन्दोलनको शुरुवाती दिनमा संस्थागत श्रम स्वीकृति लिनेको सङ्ख्या केही कम भए पनि पछिल्लो दिनमा सङ्ख्या बढ्दो क्रममा रहेको जानकारी दिए ।

संस्थागत स्वीकृति घट्दा व्यक्तिगत स्वीकृति लिनेहरुको सङ्ख्या बढ्दै गएको उनले बताए ।

सङ्घका अध्यक्ष विमल ढकालले केही म्यानपावरले सङ्घको निर्णय विपरीत श्रम स्वीकृति लिइरहेको स्वीकार गर्दै उनीहरुलाई कारबाही गरिने बताए ।

बाहिर प्रहरी धरपकडको विरोधमा आन्दोलनको घोषणा गरे पनि व्यवसायीहरु भित्रभित्रै निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको व्यवस्थापछि प्रवद्र्धन खर्चबापत खाडीका छ मुलुक र मलेशियामा बढीमा रु १० हजारमात्रै व्यवसायीले उठाउन पाउने गत असार २१ गतेको निर्णय परिवर्तन गर्ने खेलमा लागिरहेका छन् ।

प्रवद्र्धनात्मक खर्चबापत म्यानपावरले उठाउन पाउने रु १० हजारलाई बढाएर रु २० हजार पु¥याउनुपर्ने वा कामदारले पाउने पहिलो महिनाको तलब बराबरको रकम पाउनुपर्ने माग पूरा भए आफूहरु आन्दोलन रोक्न तयार रहेको सङ्घका अध्यक्ष ढकालको भनाइ छ ।

गत आइतबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकबाट सोसम्बन्धी निर्णय गराउने केहीको प्रयास असफल भएपछि म्यानपावर व्यवसायी निराश भएका छन् ।

पछिल्लो समय नेपाली कामदारको माग कम हुँदै गएकामा म्यानपावर बन्द गरेर बस्दा विदेशमा नकारात्मक सन्देश जाने र गन्तव्य मुलुकले अर्को विकल्प खोज्ने भन्दै म्यानपावर खोल्नुपर्ने पक्षमा केही व्यवसायीले मत राख्दै आएका छन् ।

वैदेशिक रोजगारका जानकार गणेश गुरुङ म्यानपावर बन्द हुँदा एकातर्फ देशकै अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने र अर्कोतर्फ गन्तव्य मुलुकले नेपालबाट समयमै कामदार नआउने तथा भरपर्दो नहुने भन्दै अन्य मुलुक रोज्न सक्ने भएकाले व्यवसायी सचेत हुनुपर्ने बताउँछन् ।

यस्तो आन्दोलन धेरै दिन व्यवसायीले थेग्न नसक्ने हुँदा व्यवसायी सच्चिनुको विकल्प नरहेको उनको भनाइ छ ।

तत्कालै सङ्घको माग सुनुवाइ हुने सम्भावना नरहेकाले कति दिन कार्यालय बन्द गर्ने भन्ने व्यवसायीबीच अन्योलता देखिएपछि सङ्घको आन्दोलन असफलतातर्फ उन्मुख हुन थालेको हो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>