समाचारबिहीबार, चैत्र ११, २०७२
दाहाल वीरगञ्ज आए कडा प्रतिवाद गर्छौंः मधेशी युवा गठबन्धन
मधेशी युवा गठबन्धन पर्साले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई मधेशमा नआउन उर्दी जारी गरेको छ ।
वीरगञ्जमा १२ चैतमा शुरु हुने दोस्रो वीरगञ्ज व्यापार महोत्सवको उद्घाटन गर्न दाहाल वीरगन्जमा आउने जानकारी पाएपछि विभिन्न मधेश केन्द्रितदलहरुमा आवद्ध युवाहरुले उनलाई वीरगञ्ज नआउन भन्दै आएमा कडा प्रतिरोध गरिने बताएका हुन् ।
उनीहरुले ११ चैतमा वीरगञ्जको घण्टाघर चोकमा दाहालविरोधि प्रदर्शन गर्नुका साथै पुतला समेत जलाएका छन् ।
मधेशी युवा गठबन्धन पर्साका अध्यक्ष इश्वरचन्द्र यादव र सल्लाहकार ओम प्रकाश सर्राफको अगुवाईमा मधेशी दलका युवाहरुले सरकार र ठूला तीन दल विरुद्ध नाराबाजी पनि गरेका थिए ।
गठबन्धनका संयोजक यादवले सरकारका मन्त्री र प्रमुख दलका नेताहरुलाई मधेशमा सभा सम्मेलन गर्न नदिने बताए ।
“साढे सात महिनादेखि जारी आन्दोलनलाई तुहाउने कार्यमा लागेका छन्,” यादवले भने “मधेश आन्दोलनको भावना बिपरित सभा–सम्मेलन गर्न हामी दिँदैनौं ।”
सल्लाहकार सर्राफले भने, “हाम्रो चेतावनीलाई अटेर गरेर माओवादी अध्यक्ष प्रचण्ड वीरगन्जमा आए हामी त्यसको प्रतिकार गर्छौ ।”
११ चैतबाट वीरगञ्जमा दोस्रो वीरगञ्ज महोत्सव तथा व्यापार मेला शुरु हुँदैछ ।
सुरेश बिडारी, वीरगञ्ज