समाचारबिहीबार, चैत्र ११, २०७२
भूमिगत सङ्गठनका सैन्य प्रमुख पक्राउ
‘जनतान्त्रिक टाइगर जनशक्ति पार्टी’नामक भूमिगत सङ्गठनका सैन्य प्रमुख पृथ्वीसिंह भनिने कैलाश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले ठाकुरलाई आज, ११ चैतमा सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार ठाकुर गत २२ माघमा भएको नेपाली कांग्रेसका कार्यकर्ता राजेन्द्र यादवकोे हत्यामा संलग्न थिए ।
प्रहरी उपरीक्षक रामदत्त जोशीले ठाकुर घटनामा सुटरको भूमिका निर्वाह गर्ने, फिरौती माग गर्ने र उद्योगपति, व्यवसायी, पेसाकर्मीलाई धम्की दिई अवैध चन्दा असुली गर्नेलगायत कार्यमा प्रत्यक्ष संलग्न रहेको बताए ।
सिरहा जिल्ला मिर्चैया–६ का २० वर्षीय ठाकुरले सो सङ्गठनका तत्कालीन सैन्य प्रमुख अजयसिंह भनिने रामरिझन यादव पक्राउ भएपछि सैन्य प्रमुखको जिम्मेवारी सम्हाल्दै आएको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीले ठाकुरका सहयोगी र हातहतियार ओसारपसार गर्ने कारी भनिने विनोद यादवलाई समेत पक्राउ गरेको छ ।
सिरहा भेडिया–३ का ३० वर्षीय विनोद पनि हत्या गर्ने र बम विस्फोट गराउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
ठाकुर र विनोदबाट पेस्तोल र म्यागजिन एक एक थान, गोली सात राउन्ड तथा मोबाइल, भारतीय सिमकार्ड र नेपाली सिमकार्ड दुई दुई थान बरामद भएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
