Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
शरणार्थीले बढाएको व्यवसाय - Himalkhabar.com

रमझमशुक्रबार, चैत्र १२, २०७२

शरणार्थीले बढाएको व्यवसाय

सजना बराल

किशोर शिवाकोटी

किशोर शिवाकोटी

पुनर्वासमा युरोप र अमेरिका पुगेका भूटानी शरणार्थीहरु उता राम्रै कमाई हुन थालेपछि गीत-संगीतको रहर पूरा गर्न नेपाल आउने गरेका छन् ।

‘आकाशैमा चील उड्यो,’ ‘लुटेर लग्यो’, (महेश थुलुङ), ‘के भयो माया माग्दा’ (अर्जुन रसाइली), ‘पूर्णिमाको चन्द्रमालाई’ (लोकेश गुरुङ) जस्ता आधुनिक गीत युवामाझ रुचाइएका छन्। शब्द, संगीत र स्वर फरक फरक भए पनि तीनै गीतमा एउटा समानता छ– सबैका गायक भूटानी शरणार्थी हुन्।

संयुक्त राष्ट्रसंघको पुनर्वास कार्यक्रमका क्रममा अमेरिका र यूरोपका विभिन्न मुलुक पुगेका कतिपय भूटानी शरणार्थी नेपाल आउनुमा संगीत कारक बनेको छ। नेपालमा धमाधम गीत रेकर्ड गरी अल्बम बोकेर फर्कने शरणार्थीको संख्या बढ्दो छ।

१५ वर्षसम्म पूर्वी नेपालमा शरणार्थी जीवन विताएका किशोर शिवाकोटी २०६४ सालमा पुनर्वासको क्रममा अमेरिका लागेका थिए। केही समयअघी उनी नेपाल आएर आफ्नो अल्बम रेकर्ड गराएर अमेरिका फर्केका छन् ।

लोकेश गुरुङ

लोकेश गुरुङ

“नेपाल छँदै संगीतको रस पसेको थियो”, एक महीनाको बसाइपछि पुनः अमेरिका फर्किसकेका उनी भन्छन्। शिवाकोटीले निर्माणाधिन एल्बमका लागि मात्रै हालसम्म रु. ६ लाख खर्च गरिसकेका छन् । नेपाल आऊ–जाऊ गर्न, बस्न–खान आदि सबैथोकका खर्च जोड्दा र एल्बम बनाएर म्युजिक भिडियो समेत खिचिसक्दा थप दुई/चार लाख लाग्ने उनी बताउँछन् ।

सात वटा गीत समावेश गरिने एल्बम सुरुमा एक हजार प्रति निकाल्ने र अमेरिकाकै साथीभाईलाई बाँड्ने सिवाकोटीको लक्ष्य छ ।

सहकार्यबाट समृद्धि
भूटानी शरणार्थीको नेपाल भ्रमणले उनीहरुको रुचिलाई मात्र होइन यहाँका रेकर्डिङ स्टुडियो, अरेञ्जर, संगीतकार, रचनाकार तथा गायकगायिकालाई समेत भरथेग गरिरहेको छ।

“कतिले उतैबाट आवाज रेकर्ड गरी पठाएर नेपालबाटै बाँकी काम गराउँछन्”, काठमाडौंस्थित संगम रेकर्डिङ स्टुडियोका रेकर्डिस्ट मित्र लामा भन्छन्, “उनीहरुले गर्दा थुप्रै रेकर्डिङ स्टुडियो धानिएका छन्।”

गायक स्वरुपराज आचार्य भूटानी संगीतकर्मीको लगनबाट प्रभावित छन्। “सत्य र मैले भूटानी संगीतकर्मीसँग काम गरिरहेका छौं”, उनी भन्छन्, “उनीहरुको लगाव र अभ्यासले हामीलाई समेत मिहिनेत गर्न झक्झक्याउँछ।”

महेश थुलुङ

महेश थुलुङ

ए–वान म्युजिसियन स्टुडियोका रेकर्डिस्ट साजन साह पनि पछिल्लो समय भूटानी संगीतकर्मीकै ‘प्रोजेक्ट’ मा व्यस्त छन्। उनी भन्छन्, “अहिले विदेशतिरकै कामले स्टुडियो भरिन्छ।”

संगीतकार न्ह्यू बज्राचार्य यसले नेपाली संगीतलाई नै समृद्ध बनाउन सहयोग गरिरहेको बताउँछन्। “हाम्रा कतिपय चर्चित गायकगायिका भन्दा राम्रो गाउन सक्ने भूटानीहरू छन्”, संगम स्टुडियोका लामा भन्छन्, “उनीहरू धेरै अभ्यास गरेर मात्र स्टुडियोमा आउँछन्।”

महेश थुलुङ, खेम रिजाल, मनोज राई, लीला शिवाकोटी, अम्बर सुब्बा, अर्जुन रसाइली, किरण गजमेर, कान्छीमाया सुब्बा, मनिष अधिकारी, बिकु गुरुङ जस्ता भूटानी गायकगायिका, संगीतकार तथा गीतकार नेपाली संगीतमा सक्रिय छन्। उनीहरूमध्ये केही त अल्बम विमोचनका लागि समेत नेपाल नै आउँछन्।
“भाषा, संस्कृति मिल्ने भएकाले नेपालमै कला देखाउने ठाउँ पाएका छौं”, गीतकार खेम रिजाल भन्छन्, “अल्बम बेचेर पैसा जोड्नेभन्दा पनि तिर्सना मेट्न पाएकोमा खुशी लाग्छ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>