समाचारसोमबार, मंसिर १८, २०६९

पुष्पा बस्नेत सिएनएन हिरो २०१२ घोषित

सन्त गाहा मगर

पुष्पा बस्नेत। तस्बीर मीनरत्न बज्राचार्य

बस्नेतले संसारका बाँकी ९ प्रतिस्पर्धीलाई पछि पारेर उपाधि हात पारेकी हुन । इन्टरनेट भोटिङको आधारमा पुष्पाले बाजी मारेकी हुन । पुष्पासँगै स्कट स्ट्रोड्, एम भिलाड एपोलोन, वान्डा बट्स, कोनी सिस्कोस्की, मेरी कोटार्नी, लियो म्याककार्थी, थुलानी माडोन्डो, राजीय जान र टेरेसा फिट्जगेराल्ड र क्याटालिना स्कोबार प्रतिस्पर्धामा थिए ।

अवार्डसँगै पुष्पाले दुई लाख पचास हजार  अमेरिकी डलर हात पारेकी छन् । उनले हिरो बन्न सफल भए देशभरीका विभिन्न जेलबाट थप बालबालिका ल्याएर हेरचाह गर्ने बताएकी थिइन् । काठमाडौं बागबजारकी २८ वर्षीय अवाहित पुष्पा ४८ बालबालिकाकी आमा हुन ।

यसअघि २०१० मा माइती नेपालीकी अध्यक्ष अनुराधा कोइराला सिएनएन हिरो बनेकी थिइन ।

सिएनएन हिरोसम्मको यात्रा

काठमाडौं माइतीघरको सेन्ट जेभियर कलेजले ‘सोसल सर्भिसेस्’ विषयका विद्यार्थीहरूको समूहलाई अध्ययन भ्रमणको सिलसिलामा सुन्धारास्थित केन्द्रीय कारागारको महिला शाखामा लैजाँदा आमासँगै कारागारमा बसेकी बालिका सानुकान्छी तामाङ एउटी छात्राको कुर्ता समात्न आइपुगिन्। सात वर्षअघिको त्यो घटनाले ती छात्रा पुष्पा बस्नेतलाई एउटी असाधारण आमा बनायो, जो अहिले अविवाहित भएर पनि दर्जनौं सन्तानकी ‘पुष्पा मामु’ बनेकी छन्। उनका सबै छोराछोरी बाबुआमासँग कारागारमा बस्न बाध्य निर्दोष नानीहरू हुन्।
एकैरातको निर्णयमा सानुकान्छीसहित चार छोराछोरीको आमा बनेकी २८ वर्षीया पुष्पा बस्नेत अहिले ४८ बालबालिकाको लालनपालन गरिरहेकी छन्। बूढानीलकण्ठस्थित उनको ‘प्रारम्भिक बाल विकास केन्द्र’ मा अढाइवर्षे नानीदेखि १७ वर्षका किशोरकिशोरीले असल आमाबाट पाइने स्नेह, सुरक्षा र शिक्षा पाइरहेका छन्। बोर्डिङ स्कूल जाने उनीहरूलाई पढ्ने, खेल्ने बाहेक उमेर सुहाउँदो जिम्मेवारी (जस्तो सानुकान्छीले खाना खानेबेलामा चम्चा वितरण गर्नुपर्छ) पनि दिइएको छ। “अर्काले हुर्काइरहेका बालबच्चा भनेर हेलाँहोचो नगरुन् भनेर स्कूलको फिसमा छुट मागेकी छैन”, पुष्पा भन्छिन्, “सबै ज्ञानी बनुन् भनेर उनीहरूको पढाइमा कडा मिहिनेत गराएकी छु।”

बिहान ६ बजे शुरू हुने पुष्पाको दिनचर्या देशका १४ कारागारबाट ल्याइएका नानीहरूको हेरचाहमा बित्छ। उनका हातहरू छोराछोरीको गृहकार्यदेखि पोशाक, खाना, विस्तरा र शौचालयसम्म पुग्छन्। केटाकेटीले भनेको नमान्दा कहिलेकाहीं चित्त दुखाउने पुष्पा तिनका कलिला हातले बनाएका चित्र वा खेलौना उपहार पाउँदा पुलकित हुन्छिन्। उनीहरू कक्षामा पहिलो–दोस्रो भएर वा खेलकुदमा पुरस्कार विजेता बनेर आउँदा उनलाई गर्व लाग्छ। पुष्पा अहिले ‘आमा’ शब्दमा निहित ‘शक्ति’ को पूर्ण अनुभूति गरिरहेकी छन्, जुन शक्तिले उनलाई सीएनएन हिरो बनाएको छ ।

अमेरिकाको अन्तर्राष्ट्रिय टेलिभिजन सेवा ‘केवल न्यूज नेटवर्क’ को ‘सीएनएन हिरो–२०१२’ हुनसके सम्मानसँगै आउने एक लाख अमेरिकी डलर पुरस्कार आफ्ना छोराछोरीका लागि ठूलो भरथेग हुने पुष्पा बताउँछिन्। त्यो अवस्थामा थप ७० छोराछोरीको अभिभावकत्व लिन सकिने हिमाल खबरपत्रिकालाई बताएकी थिइन ।
पुष्पा बस्नेतले यसअघि हिमालखबर डटकमलाई दिएको अन्तर्वार्ता पढ्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>