समाचारशनिबार, चैत्र १३, २०७२
नेपालमा लगानी गर्नुसः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको साङ्सी प्रान्त र सियान शहरका व्यापारीलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।
१२ चैतमा यहाँको साङ्ग्रिला होटलमा सिसिपिआइटीको साङ्सी उपपरिषद्का अध्यक्ष झाओ रुनमिनले संयोजन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा वैदेशिक लगानीका लागि अनुकूल वातावरण रहेको बताए ।
प्रम ओलीले भने– “साङ्सी प्रान्तको राजधानी सियान प्राचीन रेशम मार्गको उद्गम स्थल हो । अहिले यसको आधुनिकीकरण गर्न यही जन्मिएका चिनियाँ राष्ट्रपति सि जिनपिङले नेतृत्व गरेको ‘एक क्षेत्र एक मार्ग’ अभियानबाट नेपाल पनि लाभान्वित हुन चाहेको छ ।”
यस क्षेत्रले एशियालाई अफ्रिका र युरोपसँग जोड्दै आएको र अन्तर्राष्ट्रिय व्यापारलाई आधुनिकीकरण गर्न सघाउँदै आएको बताउँदै उनले चिनियाँ समुदाय र व्यापारीबीच यस विषयमा विचार आदानप्रदान गर्न पाएर आफू खुशी भएको बताए ।
नेपाल र चीनबीच युगौँ पुरानो सम्बन्ध रहेको र दुईबीच कुनै समस्या नभएको पनि उनले उल्लेख गरे ।
“चीनको प्रगतिबाट हामी ज्यादै खुसी छौँ, हामी यसबाट लाभ लिन चाहन्छौँ,” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले नेपालमा उदार अर्थतन्त्र भएको, कानुनी तथा प्रशासनिक प्रक्रियालाई सरल बनाइएको, लाभांशमा आयकर नलाग्ने व्यवस्था गरिएको र दुवैतर्फका छिमेकमा ठूला बजार विद्यमान रहेकाले नेपालमा लगानी गरेर व्यवसायीले फाइदा उठाउन सक्ने बताए ।
उक्त अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले नेपालमा जलविद्युत्, यातायात जस्ता पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्ने प्रचुर सम्भावना भएको र नेपालमा उत्पादित सामान दक्षिण एशियाकै बजारमा पु¥याउन सकिने बताए ।
साङ्सी प्रान्तीय विकास तथा सुधार आयोगका निर्देशक झाङ जियाङवोले नेपाल र सियानका व्यापारीबीच सियानमा पनि संयुक्त लगानीबाट काम थाल्न सकिने सम्भावना औंल्याए ।
उक्त अन्तरक्रियात्मक कार्यक्रममा साङ्सी प्रान्तका चिनियाँ जनराजनीतिक सम्मेलनका उपाध्यक्ष झाङ सियाओमिङ पनि उपस्थित थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
