समाचारआइतबार, चैत्र १४, २०७२
एसएलसी तयारी पूरा, ६ लाखभन्दा बढी परीक्षार्थी
१८ चैतदखि शुरु हुने यस वर्षको एसएलसी परीक्षामा ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन् ।
यस वर्षको परीक्षामा नियमिततर्फ ४ लाख ५२ हजार ८८१ र पुनःपरीक्षातर्फ १ लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुने छन् ।
यसैगरी प्राविधिकतर्फ ३ हजार २५५ परीक्षार्थी सहभागि हुनेछन् ।
सबैभन्दा बढी काठमाडौंमा करिब ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिनेछन् ।
परीक्षाको आवश्यक सम्पर्ण तयारी पूरा गरिएको बताउँदै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले यस वर्षको परीक्षा शान्तिपूर्ण सम्पन्न गर्न अनुगमनलाई कडा पारिने बताए ।
यस वर्षको परीक्षाका लागि देशभर १ हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
यस वर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीलाई परीक्षा सकिएकै दिन उनीहरुको परिचयपत्र वितरण गरिने भएको छ ।
परीक्षाको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नामथर, जन्ममिति, ठेगाना, अङ्ग्रेजी हिज्जे र परीक्षा दिएको विषयमा गल्ती समयमै सच्याउन परीक्षार्थीलाई परीक्षा सकिएको दिन परिचयपत्र वितरण गरिने भएको हो ।
परिचयपत्र वितरण गर्दा त्यसमा भएको विवरण र प्रवेशपत्रमा भएको विवरण फरक परेमा विद्यार्थीले विवरण सच्याउन १५ दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन सक्ने बताइएको छ ।
यस वर्षको परीक्षाको नतिजा अक्षराङ्क विधिबाट सार्वजनिक गरिने भए पनि परीक्षा सञ्चालनको विधि भने विगत वर्षमा जस्तै हुने जनाइएको छ ।
परीक्षाको मर्यादा विपरीत अमर्यादित कार्य गर्ने जोकोहीलाई कसुरको मात्रा हेरेर रु १ लाख जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
रासस