थप समाचारआइतबार, चैत्र १४, २०७२

भूकम्पका कारण सगरमाथामा खाल्डा र चिरा

हिमालखबर

गत वैशाखको भूकम्पका कारण सगरमाथामा ठूला खाल्डा र चिरा परेको भेटिएको छ ।

सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथा आधार शिविरबाट माथि गएका आइसफल डाक्टरले यस्तो पत्ता लगाएका हुन् । आइसफल डाक्टरका कमान्डर आङ कामी शेर्पाले भने “सगरमाथा चढ्ने बाटोमा यति ठूला खाल्डा र चिरा यसअघि देखिएको थिएन, यस वर्ष त डरलाग्दो रहेछ” ।

दुई वर्षदेखि आरोहण हुन नसकेको सगरमाथामा अर्को वर्ष हुन लागेको आरोहणका लागि बाटो बनाइरहेका आइसफल डाक्टरहरु पहिलो शिविर पुग्न लागेका छन् ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)को संयोजनमा बाटो बनाइरहेका उनीहरुले खाल्डा र चिरा परेको कारण अघिल्ला वर्षको भन्दा दोब्बर भर्‍याङ प्रयोग गर्नुपरेको बताए । दोस्रो शिविरसम्म बाटो बनाउने जिम्मेवारी लिएर उनीहरुले त्यहाँ पुग्दा २०० बढी भर्‍याङ प्रयोग हुने बताए ।

संसारकै सबैभन्दा अप्ठ्यारो भनेर चिनिने खुम्बु आइसफलमा बाटो बनाउनु निकै चुनौती छ र यस वर्ष ठूला खाल्डा र चिराले झनै समस्या थपेको कमाण्डर शेर्पाले बताए ।

विसं २०७१ मा हिमपहिरोका कारण १६ जना शेर्पाले ज्यान गुमाएपछि तथा गत वैशाखमा भूकम्प गएपछि आरोहण रद्द भएको थियो । बाटो बनाउन कठिन भए पनि भूकम्पपछि झरेको हिउँको ढिस्को सुरक्षित रहेको आइसफल डाक्टरले जानकारी दिएका छन् ।

अर्को सातासम्ममा दोस्रो शिविरसम्मको बाटो बनाउने गरी काम भइराखेको र भिडभाड कम होस् भनेर कतिपय स्थानमा दुई वटा बाटो बनाइरहेको एसपिसिसीका प्रशासक निशान श्रेष्ठले जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>