समाचारआइतबार, चैत्र १४, २०७२
अपहरण गरी फिरौती असुल्ने तीन जना पक्राउ
जिल्ला प्रहरी कार्यालयले पर्साले अपहरण गरी फिरौती असुल्ने गिरोहका सदस्यलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज–१४ का ४५ वर्षीय भगवान सिंह, वीरगञ्ज–१८ का २४ वर्षीय दीपक सिंह र ३० वर्षीय अरविन्द कुमार सिंह छन् । अरविन्द पूर्व प्रहरी जवान हुन् ।
पर्साको झैवागुठी– ६ घरभई वीरगंज–१९ बस्ने २७ वर्षीय राजेश कुमार साह कानुलाई बसपार्कबाट अपहरण गरी ४ लाख रुपैयाँ फिरौती असुल गरेर छाडेका उनीहरुविरुद्ध पीडितले दिएको उजुरीको अधारमा प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।
पर्सा घरभई सुर्खेतमा कार्यरत प्रहरी जवान अरविन्द विरामी विदा लिई वीरगञ्ज आएका बेला उनीलगायतले गत ५ फागनुमा कानूलाई अपहरण गरी रु ४ लाख फिरौती लिएका थिए ।
प्रक्रिया नपु¥याई कार्यालयबाट अनुपस्थित रहेका उनी ५ चैतमा प्रहरी सेवाबाट बर्खास्त परेका थिए ।
प्रहरीले उनीहरुका साथबाट रु ४ लाख ७२ हजार, विभिन्न बैकहरुको ९ थान चेक बुक, विभिन्न व्यक्तिको नाममा २२ लाख ४० हजार रकम बराबरको तमसुक ३ थान र ७ लाखमा दृष्टिबन्धक गरेको जग्गाधनी लालपुर्जा २ थान बरामद गरेको छ ।
उनीहरु अपहरण र जालसाजीका अन्य घटनाहरुमा पनि संलग्न रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जियालाल साह, वीरगञ्ज