समाचारआइतबार, चैत्र १४, २०७२
चीन भ्रमण ऐतिहासिकः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण ऐतिहासिक र सफल भएको बताएका छन् ।
साताब्यापी चीन भ्रमणबाट १४ चैतमा स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भ्रमण सफल भएको बताए । उनले भने, “महत्वपूर्ण सम्झौताहरुले भ्रमण ऐतिहासिक बनेको छ ।”
साताव्यापी चीन भ्रमणबाट आज, १४ चैतमा स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालको पूर्वाधार विकासमा चिनियाँ सहयोग जुटाउने, दुवै पक्षबीच स्थल तथा हवाई सम्पर्कको विस्तार गर्ने, यातायात पूर्वाधार सुदृढ गर्न एवम् सम्पर्क सञ्जालको विस्तार एवम् थप सुदृढ गर्ने, अन्तरदेशीय सडक तथा रेल सञ्जाल निर्माण, अरनिको राजमार्ग, स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग सञ्चालनमा ल्याउन र मर्मत सम्भार गर्न काठमाडौँ, चक्रपथको विस्तार कार्य अगाडि बढाउने सम्झौता भएको प्रधानमन्त्रीले जानकारी दिए ।
त्यस्तै किमाथाङ्का–खाँदबारी धनकुटा सडक, ४३४ मेगावाट क्षमताको अरुण किमाथाङ्का जलविद्युत् परियोजना विकास, अन्तरदेशीय ४०० केभी क्षमताको प्रसारण लाइन, काठमाडौँ चक्रपथमा १३२ केभी क्षमताको मोनोपोल प्रसारण लाइन निर्माण गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउन चिनियाँ पक्ष सहमत भएको प्रधानमन्त्री ओलीले बताए ।
उनले निजामती अस्पतालको विस्तार तथा मदन भण्डारी विज्ञान तथा प्रविधि संस्थान स्थापना गर्न चिनियाँ सहयोग प्राप्त गर्ने विषयमा कुराकानी भएको पनि उल्लेख गरे ।
नेपालको व्यापार घाटा घटाउन चीनमा निर्यात सम्भाव्यता भएका ५०० भन्दा बढी नेपाली वस्तुलाई सहज बजार प्रवेश दिन नेपाली पक्षबाट प्रस्तुत गरिएको सूचीलाई चिनियाँ पक्षले गम्भीर रुपमा लिएको बताउँदै प्रधानमन्त्रीले ऊर्जा व्यापारका लागि दुवै मुलुकका सम्बन्धित निकायबीच संवाद संयन्त्र स्थापना गर्ने सहमति भएको जानकारी दिए ।
नेपालको पर्यटन व्यवसायलाई थप ऊर्जा प्रदान गर्न तथा चिनियाँ पर्यटकबाट नेपालले फाइदा लिनसक्ने वातावरण निर्माण गर्नका लागि आगामी पाँच वर्षभित्र २०० पर्यटक व्यवसायीलाई चिनियाँ भाषा, तालिमलगायत पर्यटन क्षेत्रमा सहयोग गर्ने सहमति भएको पनि ओलीले बताए ।
मानव स्रोतको विकासका लागि यसवर्ष ४०० भन्दा बढी तालिमका अवसर तथा हाल उपलब्ध गराउँदै आएको सरकारी छात्रवृत्ति सङ्ख्या बढाउनसमेत चिनियाँ पक्ष सहमत भएको प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्री ओलीले चीनको उच्च राजनीतिक नेतृत्वबाट सन् २०१६ मा नेपालको भ्रमण हुने अपेक्षा राखेको बताए ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा दुबैपक्षबीच हिल्सास्थित सीमा नाकामा चिनियाँ सहयोगमा पुल निर्माणसम्बन्धी सम्झौता, पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी ऋण तथा सहुलियतपूर्ण ऋण लिनेसम्बन्धी तीनवटा सम्झौता भएका छन् ।
त्यस्तै चिनियाँ सहयोगमा तेल तथा ग्यासको अन्वेषणको सम्भाव्यता अध्ययनसम्बन्धी सहमतिपत्र, नेपाल र चीनबीच स्वतन्त्र व्यापार सम्झौताको वार्ता आरम्भ गर्नेसम्बन्धी संयुक्त सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्र, भूकम्प प्रभावित क्षेत्रलाई ३२ हजार सौर्य प्रणाली उपलब्ध गराउनेसम्बन्धी सहयोग सम्झौता, टे«डमार्क दर्ता संरक्षण गर्ने विषयक समझदारीपत्र, वित्तीय तथा बैंकिङ क्षेत्रमा सहयोग आदानप्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ७ चैतमा चीन प्रस्थान गरेका थिए ।