थप समाचारसोमबार, चैत्र १५, २०७२
३० प्रतिशत ल्याए एसएलसी उत्तीर्ण !
एसएलसीमा एक तिहाईभन्दा बढी ‘अनुत्तीर्ण’ हुने निश्चित प्रायः भएपछि अक्षराङ्कन पद्धतिको ग्रेडिङ प्रणाली परिवर्तन गरिएको छ । परिवर्तित व्यवस्थाअनुसार, ३० भन्दामाथि र ४० भन्दा कम अंक पाएका विद्यार्थीका लागि ‘डि प्लस’ श्रेणी थप गरिएको छ । हिमाल ले (३० फागुन–६ चैत अंकमा) ‘अक्षरांकन पद्धति मर्म विपरीत’ लागु गर्न लागिएको रिर्पोट प्रकाशित गरेको थियो ।
राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्का सदस्य सचिव बाबुराम पौडेलले, विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ मा उल्लेखित २० देखि ४० प्रतिशत पाउने विद्यार्थीलाई ‘डी’ श्रेणीमा राख्ने निर्णय परिषद्ले परिवर्तन गरेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) र उच्च माध्यमिक शिक्षा परिषद (उमाशिप)ले ‘डी’ श्रेणीलाई भर्ना नलिने भएपछि यसअघि कै पास अंक (३२ प्रतिशत) सँग मिल्ने गरी नयाँ श्रेणी निर्धारण गरिएको परिषद्ले बताएको छ । ‘डि प्लस’ले माथिल्लो तहमा भर्ना पाउने भएपछि भने ३० प्रतिशतभन्दा माथि अंक ल्याउने विद्यार्थी लाभान्वित हुनेछन् ।
परिषद्ले सैद्धान्तिक र प्रयोगात्मक खण्डमा भएका अलग अलग उपलब्धिस्तर खुल्ने गरी ग्रेडिङ गर्ने कार्यविधिमा उल्लेखित व्यवस्था पनि परिवर्तन गरेको छ । अब अंक दिँदा सैद्धान्तिक र प्रयोगात्मक खण्डमा ल्याएको अंक जोडेर ग्रेडिङ गरिने छ । यस्तै परिषद्ले परिक्षामा अनुपस्थित हुने वा शुन्य प्रतिशत अंक ल्याउनेका लागि यसअघि राखेको ‘एन’ श्रेणी हटाएको छ ।
सन्त गाहा मगर