समाचारसोमबार, चैत्र १५, २०७२

रामचन्द्र पौडेलको छुट्टै भेला

सइन्द्र राई

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय सांसदहरुको छुट्टै भेला गरेका छन् ।

आसन्न संसदीय दलको निर्वाचनबारे छलफल गर्न भन्दै पौडेलले आफ्नै निवासमा सांसदहरुको भेला राखेका हुन् । भेलामा सहभागी केन्द्रीय सदस्य नविन्द्रराज जोशीले संसदीय दलको विधान संशोधनबारे छलफल भएको बताए ।

जोशीले भने, “नयाँ संविधान अनुसार विधान संशोधन गरेर अघि बढ्नेबारे छलफल भयो ।” केन्द्रीय सदस्य रमेश रिजाल संयोजकत्वमा दलको निर्वाचन गराउन बनेको समितिमा विवाद उत्पन्न भएपछि पौडेलले छुट्टै भेला राखेका हुन् ।

उक्त समितिका सदस्य रहेका पौडेल निकट नेता गुरुराज घिमिरेले १४ चैतमा ‘नोट अफ डिसेन्ट’ लेख्दै असहमति जनाएका थिए । तर, सभापति शेरबहादुर देउवा निकटका नेता रिजालले २४ चैतमा निर्वाचन गराउने तयारी थालेका छन् ।

केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले २४ चैतमा दलको नेता चुन्न निर्वाचन हुने बताए । उनले भने, “विधान संशोधन ठूलो विषय होइन, यसैलाई आधार मानेर चुनाव सार्ने काम गर्नु हुँदैन ।”

पौडेलले सैद्धान्तिक विषय उठाएर गुटबन्दी गर्न खोजेको सभापति देउवा निकटका नेताहरु बताउँछन् । नयाँ संविधानअनुसार पाँच विकास क्षेत्रको ठाउँमा सात प्रदेश बनाउने ठूलो विषय नभएपनि यसैलाई लिएर निर्वाचन प्रभावित बनाउन पौडेल लागेको देउवा निकटका एक नेताले बताए ।

१३औं महाधिवेशनबाट देउवा सभापति निर्वाचित भएपछि ३ चैतमा बसेको पहिलो केन्द्रीय कार्य समितिकाे बैठकले दलको नेता चुन्न रिजालको संयोजकत्वमा समिति बनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>