समाचारसोमबार, चैत्र १५, २०७२

काठमाडाैंमा अन्तर्राष्ट्रिय महिला उद्यमी मेला हुने

हिमालखबर

नेपालमा पहिलो पटक ‘अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेला’ हुने भएको छ ।

sajanaभारत, बङ्गलादेश, भुटान, फिलिपिन्स, चीनजस्ता मुलुकका महिला उद्यमी सहभागी हुने मेला १९, २० र २१ चैतमा आर्मी अफिसर्स क्लब, भद्रकालीमा हुनेछ ।

नेपाली र विदेशी महिला उद्यमीलाई एकअर्कासँग अन्र्तक्रिया गराउने उदेश्यले मेला आयोजना गरेको आयोजक, महिला उद्यमी महासंघ नेपाल (एफवीन) की अध्यक्ष रीता भण्डारी बताउँछिन् ।

“नेपाली र विदेशी महिला एकै ठाउँमा हुँदा एक–अर्काका उत्पादन र व्यापारिक कौशलबारे जान्ने मौका मिल्छ”, उनी भन्छिन्, “नेपाली महिलाको उत्पादनको बजार विस्तारमा पनि यसले भूमिका खेल्न सक्छ ।”

‘मिलेर काम गर, मिलेर जित’ भन्ने नारासहितको मेलामा हस्तकला, कृषि, प्रविधिलगायत विविध उद्यममा संलग्न करीब २ सय महिलाले भाग लिँदैछन् । ७५ वटा स्टलसँगै ‘डिस्प्ले कक्ष’, ‘लाइभ डाइरेक्टरी बोर्ड’ र ‘लाइभ डेमोन्स्ट्रेशन’ राखिएको छ । “मेलामा विविधता थप्न धेरै प्रयास गरेका छौं”, भण्डारी भन्छिन्, “अपांगता भएका र बर्न भिक्टिम उद्यमीलाई पनि विशेष ठाउँ दिइनेछ ।”

अध्यक्ष भण्डारीका अनुसार नेपालमा सेवा–प्रदायक क्षेत्रहरूमा महिला उद्यमीको रुची बढिरहेको छ । यद्यपी, उनीहरूले संस्थागत रूपमा काम गर्न जानिनसकेको उनी बताउँछिन् । “युवतीहरू नयाँ–नयाँ उद्योग–कला निर्माण गरिरहेका हुन्छन्”, उनी भन्छिन्, “तर, त्यसका लागि चाहिँने पूँजीको व्यवस्था गर्न जान्दैनन् ।”

नयाँ उद्यमीलाई दिशानिर्देश गर्न पनि मेला सहयोगी हुने भण्डारीको विश्वास छ । सन् २००३ मा स्थापना भएको महासंघले यसअघि तीनवटा मेला आयोजना गरिसकेको छ । यसपालीको मेला आयोजनाका लागि रु. ७० लाख खर्च गरिएको उनी बताउँछिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>