रमझममंगलबार, चैत्र १६, २०७२

प्रेम र अर्थ–राजनीति

हिमालखबर

 शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक 'मिडसमर नाइट्स सपना'। तस्वीर: अजय रानाभाट


शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘मिडसमर नाइट्स सपना’। तस्वीर: अजय रानाभाट

प्रेमको उल्झन र समाधानबारे कैयौं नाटक लेखिएका छन्। नाटककार विलियम शेक्सपियरले पनि यीबारे कालजयी कृतिहरू लेखेका छन्। वियोग बहुल उनका कृतिमाझ ‘अ मिडसमर नाइट्स ड्रिम’ भने सुखान्त नाटक हो। यही नाटकलाई निर्देशक सुनिल पोखरेलले बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गराइरहेका छन्।

कवि मनु मञ्जिलले नेपालीमा अनुवाद गरेको यो नाटकलाई मञ्चमा ‘मिडसमर नाइट्स सपना’ नाम दिइएको छ। प्रेमीसँगै जीवन बिताउने रहरले कानून तोडेर जंगल पसेको जोडी, जोडी खोज्दै भौंतारिएका दुई युवायुवती, नाटक अभ्यास गर्न गएका मजदूर, परी लोकका महाराज–महारानी र उपद्रयाहा आत्मा चतुरेको चर्तिकलाले नाटक रोचक बनाएको छ। आफूलाई सिपालु ठान्ने तर काम बिगार्ने चतुरे र तुरुन्त आवेशमा आइहाल्ने बलेको हाउभाउले दर्शक नहाँसी बस्न सक्दैनन्।

२० चैतसम्म मञ्चन हुने नाटकमा कुमार थामी, सफर पोखरेल, सुनिशा बजगाईं, ऐश्वर्या देवकोटा, आभाष अधिकारी, जेडी तमु, संगीत सापकोटा, सगुन पोखरेल, पूजन थापा, विजय ताम्राकार आदिले अभिनय गरेका छन्। “शेक्सपियरको महान् कृतिलाई नाट्यरुपान्तर गर्न सक्तिनँ कि भन्ने डर थियो”, निर्देशक पोखरेल भन्छन्, “थोरै भए पनि डर हराएको छ।”

मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक 'योजनापार्क' को दृश्य। तस्वीरड्: डम्बरकृष्ण श्रेष्ठ

मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘योजनापार्क’ को दृश्य। तस्वीरड्: डम्बरकृष्ण श्रेष्ठ

शासकमा बढी शक्तिशाली हुँदा जनताको हालत कस्तो हुन्छ? निरंकुशताको यही पराकाष्ठालाई ‘योजनापार्क’ मार्फत देखाउन खोजिएको छ। अनामनगरस्थित मण्डला नाटकघरमा चलिरहेको यो नाटकमा अन्यायसँग जुध्न नसकेका सर्वसाधारणको कथा उनिएको छ।

‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ चलचित्रमा अभिनयमार्फत तारीफ बटुलेका बुद्धि तामाङ निर्देशित यो नाटकले जनभावनामुखी सरकारको अपेक्षा गरेको छ। यसअघि सडक नाटकहरू निर्देशन गरेका तामाङले पहिलोपटक थिएटर हलमा सःशुल्क नाटकको तयारी गर्दा अत्तालिएको बताउँछन्। “पहिलो प्रयासलाई दर्शकले सराहना गरेकोमा हौसिएको छु”, उनी भन्छन्।

नोबल पुरस्कार विजेता अर्थशास्त्री एफ ए हायकको कृति ‘द रोड टु सर्फडम’ बाट उत्प्रेरित यो नाटकको पटकथा सुरेश सापकोटाले लेखेका हुन्। नाटकका केही प्रसंग अनावश्यक लागे पनि संवाद र हाउभाउले दर्शकलाई हँसाइरहन्छ। २८ चैतसम्म मञ्चन गरिने नाटकमा रोहित पौडेल, अनुप न्यौपाने, अंकित खड्का, इँगिहोपो कोइँच सुनुवार, अमर भण्डारी, परीक्षा लामिछाने, विनिता गुरुङलगायतले अभिनय गरेका छन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>