समाचारमंगलबार, चैत्र १६, २०७२
पुनःनिर्माणमा भएको ढिलाईप्रति प्रधानमन्त्रीको असन्तुष्टी
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण कार्यक्रममा देखिएको ढिलाइप्रति चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सम्बन्धित मन्त्रालय, निकाय र एकाइबीचको समन्वयका लागि आयोजित पुनःनिर्माणसम्बन्धी गोष्ठीको काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताले सोचेजस्तो गरी काम अघि नबढेको बताए ।
“समग्र सरकार र पुनःनिर्माणका कामबाट म आफू पनि सन्तुष्ट छैन । यसमा मेरो पनि दोष होला तर अन्य बाधा र अड्चन देखाएर अभियानलाई ढिलाइ गर्ने काम सह्य हुनेछैन । त्यसका लागि मन्त्रिपरिषद् वा संसद्बाट गर्नुपर्ने कामका लागि म तयार छु” – ओलीले भने, “अबदेखि कुनै पनि नाममा व्यवधान भएमा त्यस्ता कर्मचारीलाई सरुवा गरी काम गर्नेलाई खटाइनेछ, जनतालाई छानोमुनि ल्याउने काममा दशकौं वर्ष लाग्ने स्थिति भए राम्रो हुनेछैन ।”
प्रधानमन्त्री ओलीले अबदेखि कहाँ के कति पुनःनिर्माण भयो र कर्मचारी खटाइयो भन्नेबारे दैनिक विवरण राष्ट्रिय सञ्चारमाध्यमबाट सार्वजनिक हुनुपर्ने भन्दै यसमा युवा स्वयम्सेवक पनि परिचालित गर्नुपर्नेमा जोड दिए ।
उनले नयाँ उचाइ र आत्मविश्वासका साथ पुनःनिर्माणका काम अघि बढाउन पटक पटक आग्रह गर्दै गत २ माघबाट शुरु भएको पुनःनिर्माण महाभियानअन्तर्गत रानीपोखरी र धरहरा पुनःनिर्माणका कामको पनि आपूmले प्रगति नदेखेकामा चिन्ता व्यक्त गरे ।
‘मेरो धरहरा म बनाउँछु’ अभियानमा हालसम्म मन्त्री र केहीबाट गरी रु १८ लाखमात्र जम्मा भएकामा पनि उनले प्रश्न उठाउँदै यसमा संयन्त्र र जनस्तरबाट सहयोगको अपेक्षा राखे ।