समाचारमंगलबार, चैत्र १६, २०७२
‘भ्रमणका उपलब्धी अगाडिका दिनले देखाउनेछन्’
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणको उपलब्धी आगामी दिनका परिणामले निर्क्योल गर्ने परराष्ट्र मामिलाका जानकारहरुले बताएका छन् ।
द डेभलपमेन्ट इन्स्टिच्यूटद्वारा १६ चैतमा राजधानीमा आयोजित ‘प्रधानमन्त्रीको भारत र चीन भ्रमण: अगाडिको बाटो’ विषयक छलफलमा उनीहरुले भ्रमणलाई सकारात्मक र उपलब्धिमुलक भन्दै वास्तविक उपलब्धिका लागि परिणाम पर्खनुपर्ने धारणा राखे ।
पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले प्रधानमन्त्रीको दुवै छिमेकको भ्रमणले समझ्दारीलाई नयाँ उचाइमा पु¥याएको, चिसोपन हटेर न्यानोपन बढ्दै गएको बताए । उनले भने, “यी भ्रमणपछि नयाँ सम्भावना देखिएका छन्, त्यसलाई अघि बढाउन हाम्रा आचरण र व्यवहारमा सुधार पनि आवश्यक छ ।”
पूर्व अर्थ तथा परराष्ट्रमन्त्री डा. रामशरण महतले प्रधानमन्त्रीको भारत र चीन भ्रमणको सन्दर्भ र पृष्ठभूमि महत्वपूर्ण रहेको र समग्रमा भ्रमण सकारात्मक भएको टिप्पणी गरे । “त्यो कति दिगो हुन्छ भन्ने आगमी दिनमा देखिने परिणाममा पनि निर्भर हुन्छ” उनले भने, “भ्रमणले देशको दीर्घकालीन हितका लागि कति योगदान गर्न सक्छ भन्ने कुरा महत्वपूर्ण हुनेछ ।”
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको दुवै छिमेकीसँगको सम्बन्धको बेग्लै महत्व भएको उल्लेख गर्दै भारत र चीन भ्रमणका उपलब्धिको वास्तविक परीक्षा अब हुने स्वीकार गरे । उनले भने, “नेपाल र नेपालीको हितमा त्यसको परिणाम आओस् भन्ने प्रयास सबैतिरबाट हुनुपर्छ ।”
चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले अहिले पनि सन् १९६० को दशकको चस्माबाट चीन–भारत सम्बन्धलाई हेर्ने गरिएको उल्लेख गर्दै भूराजनीतिक सम्बन्धबाट नेपाल भाग्न नसक्ने र आइलाग्ने सबै समस्या सँगै बसेर सुल्झउनुपर्ने धारणा राखे ।
इन्स्टिच्यूटका अध्यक्ष एवम् एमाले नेता भरतमोहन अधिकारीले प्रधानमन्त्रीको भ्रमणले चीन र भारतसँगको सम्बन्धको वास्तविक स्थितिलाई उजागर गरेको बताए । उनले भने, “प्रधानमन्त्रीको भ्रमणपछि पनि असजिलो मेटिएको छैन, समाधान भेटिएको छैन, यसलाई कसरी सहज बनाउने भन्ने अहिलेको महत्वपूर्ण सवाल हो ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
