समाचारमंगलबार, चैत्र १६, २०७२
इजिप्ट एयरः विमान अपहरणकारीले आत्मसमर्पण गरे
इजिप्टबाट अपहरण गरेर साइप्रस पुर्याइएको विमानका अपहरणकारीले आत्मसमर्पण गरेका छन् ।
साइप्रसको सरकारी टेलिभिजनले इजिप्ट एयरका अपहरणकारीले ६ घण्टापछि आत्मसमर्पण गरेको जनाएको रोयटर्सले उल्लेख गरेको छ ।
अपहरणकारी भनिएका व्यक्ति विमानबाट हात माथि उठाएर ओर्लंदै गरेको देखिएको उक्त टेलिभिजनले जनाएको हो । साइप्रस सरकारका प्रवक्ताले अपहरणकारी प्रहरी नियन्त्रणमा रहेको बताएका छन् ।
अपहरणकारीलाई साइप्रस प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
यसअघि अपहरणकारीले चालक दलका ४ सदस्य र तीन जना विदेशी यात्रु बाहेक सबैलाई मुक्त गरेका थिए । सबै यात्रु र चालक दलका सदस्य सकुशल छन् ।
विमान अपहरणको उद्देश्य भने अझै स्पष्ट भएको छैन ।
अपहरणकारीले साइप्रसमा रहेकी आफ्नी पूर्व पत्नीलाई भेटाइदिन माग राखेको अन्तरराष्ट्रिय सञ्चारमाध्यहरुले उल्लेख गरेका थिए भने केहीले इजिप्टको जेलमा रहेका केही महिला बन्दीको रिहाई माग गरेको बताएका थिए । यद्यपी अपहरणकारीका मागबारे अझै पुष्टी हुन सकेको छैन ।
इजिप्टको राष्ट्रपति कार्यालयका प्रवक्ता अला युसुफले अपहरणकारी इजिप्टका नागरिक भएको र उनको नाम सैफ एल दिन मुस्तफा रहेको बताएका छन् ।
यसअघि अपहरणकारीको नाम अर्कै बताइएको थियो ।