समाचारमंगलबार, चैत्र १६, २०७२

थापालाई सरकार छोड्न विष्टकोे चेतावनी

हिमालखबर

राप्रपा नेपालका सह–अध्यक्ष केशरबहादुर विष्टले वर्तमान सरकारबाट बाहिरिन पार्टी अध्यक्ष कमल थापालाई चेतावनी दिएका छन् ।

अहिलेको सरकार असान्दर्भिक भइसकेको र पार्टीको नीतिभन्दा बाहिर गएर सरकारमा बस्न नहुने भन्दै उनले १५ चैतमा विज्ञप्ति निकालेका हुन् ।

राप्रपा नेपालको संस्थापन पक्षसँग असन्तुष्ट समूहको बैठकपछि जारी विज्ञप्तिमा नयाँ संविधानले मुलुकको शासन व्यवस्था, संघीयता, धर्म जस्ता महत्वपूर्ण विषयहरुमा पार्टीको मान्यताभन्दा बेग्लै व्यवस्था गरेको भन्दै संविधानप्रति असन्तुष्टी व्यक्त गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “…हाम्रा मान्यता धार्मिक स्वतन्त्रता सहितको हिन्दु अधिराज्य, राजाको संरक्षकत्वमा हक अधिकारको स्थानिय तहसम्मै अधिकारको प्रत्यायोजन भएको शासन प्रणाली मात्रै देशको स्वाभीमान सुहाउँदो, पुर्खाले दिएको अभिभाज्य, सवल सक्षम नेपालको व्यवस्था हुन सक्छ भन्ने मान्यता वोकेका र यस मान्यताको प्राप्तिका लागि संघर्ष गरी रहेका तमाम समान विचार भएका व्यक्ति, संघसंस्था, दलहरु एक भएर एकिकृत राप्रपा वनाउनु पर्ने आजको आवश्यकता हो ।”

राप्रपा नेपालका केन्द्रीय सदस्य दमन बस्नेतले पार्टीको स्थापनाकालीन उद्देश्यप्रति निष्ठाबान नेताहरुले त्यसको संरक्षण गर्दै समान विचार राख्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु र अन्य समूहसँग समेत मिलेर नयाँ पार्टी गठन हुनसक्ने बताए ।

उनले भने, “अहिले नै पार्टी फुटाउने भनेको होइन, तर धर्म निरपेक्षता, गणतन्त्र र संघीयता जस्ता विषयलाई ठिक भन्दै संविधानको तारिफ गर्ने र अर्कोतिर नेपाललाई हिन्दू राज्य बनाउँछौ भन्ने दोधारे कुरा गर्न पाइँदैन ।”

पार्टीको सिद्धान्त र व्यवहार सबैतिर स्पष्टता हुनपर्ने भन्दै उनले त्यसो नगरिए आफूहरु अलग्गिन सक्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>