समाचारबुधबार, चैत्र १७, २०७२
ह्यारीको सम्मानमा डाँडाको नाम ‘ह्यारी हिल’
गोरखाको लापुबेसीको विद्यालय भवन पुनर्निर्माणमा बेलायतका राजकुमार ह्यारीले श्रमदान गरेर सहयोग गरेपछि खुशी भएका लापुबेँसीबासीले उनको सम्मानमा डाँडाको नाम ‘ह्यारी हिल’ राखेका छन् ।
६ दिनसम्म गाउँमा बसेर ह्यारीले ११ कोठे विद्यालय भवन पुनर्निर्माण गर्न ढुङ्गा र काठ बोकेपछि खुशी भएका गाउँलेले स्थानीय डम्बुडाँडाको नाम परिवर्तन गरी ‘ह्यारी हिल’ नामाकरण गरेका हुन् ।
ह्यारीलाई १६ चैतमा बिदाइ गर्नुपूर्व स्थानीयवासीले डाँडाको नाम ह्यारी हिल राखेको विद्यालयका प्रधानाध्यापक जीव गुरुङले बताए ।
“अनकन्टार बस्तीमा आएर हामीसँगै ढुङ्गा, काठ बोक्नुभयो । उहाँको सम्मानमा स्कुलमुनिको डाँडाको नाम ह्यारीहिल राख्यौँ”, उनले भने, “ह्यारीले खुशी हुँदै धन्यवाद भन्नुभयो ।”
मनास्लु पदमार्गअन्तर्गत पर्ने ह्यारी हिललाई प्रचारप्रसार गरी थप पर्यटकीय विकास गर्न स्थानीयवासी एकजुट भएका छन् ।
२०४० सालमा नेपाल भ्रमणमा आएका ह्यारीका पिता बेलायतका तत्कालीन राजकुमार चाल्र्सले पदयात्रा गरेको स्मरणमा धनकुटाका स्थानीयवासीले भेडेटारको एउटा डाँडालाई ‘चाल्र्स पोइन्ट’ नाम राखेका थिए ।
६ दिने गाउँ बसाइमा ह्यारीले स्थानीयवासीको संस्कार, संस्कृतिबारे पनि चासो देखाएका थिए ।
दिनहुँ बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म विद्यालय र नौलीखोला लघुजलविद्युत् निर्माणमा काम गरेका ह्यारी फुर्सद हुँदा विद्यार्थीसँग खेलेको स्थानीयवासीले बताएका छन् ।
ह्यारीले स्थानीयस्तरमा उत्पादन भएको परिकार खाए भने स्थानीय सांस्कृतिक कार्यक्रममा पनि रमाए ।
स्थानीय सोमराज गुरुङले भने, “ह्यारी भाङ्ग्रा, कछाड लगाएर नाच्नुभयो ।”
टिम रुबिकन युके नामक संस्थाले गत कात्तिक महिनादेखि निर्माण शुरु गरेको प्रभातकिरण माविको भवन निर्माणमा सघाउन आएका ह्यारी हिजो, १५ चैतमा राजधानी फर्किसकेका छन् ।
रासस