Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेसजन कुरो बुझून्! - Himalkhabar.com

ब्लगबुधबार, चैत्र १७, २०७२

कांग्रेसजन कुरो बुझून्!

महेश थापा

खुमबहादुर ‘दाइ’ बलिया भए आफू बलियो भइन्छ भन्ने कांग्रेसजन कुरै बुझ्दैनन्।

KB“छि … छि…, बीपी जिम्दो भइद्या’भे के भन्थे होलान्?”

एक इमानदार कांग्रेस कार्यकर्ताको प्रश्नले मलाई उद्वेलित बनायो। लामो समयदेखि नेताको तहमा उक्लन नसकी कार्यकर्ताकै थान्कोमा बस्न बाध्य उनको इमानदारी माथि शंकाको गुन्जाइस थिएन।

“छि… छि…!” मैले लोली मिलाएँ, “कांग्रेसका विघ्नहर्तालाई दुई नम्बर ‘केस’ मा खुम्च्याएको देखेपछि बीपीको आत्माले के भन्ठान्यो होला!”

“तिमी पनि घपलाबाजीमा अदालतबाट डामिएको साँढ न पर्‍यौ!” उनले नाकको पोरा फुलाए।

पुट्ठामा अदालती त्रिशूलको डाम प्रदर्शन गर्न सके पार्टीको आन्तरिक परीक्षामा कांग्रेसजनले रोल नम्बर चार भन्दा तल खस्किन नदिने बुझेर मैले आत्मविश्वासी हुँदै भनें, “भ्रष्टाचार गरें, जरिवाना तिरें, जेल बसें, अब बिन्दास आफ्नो धन्दालाई निरन्तरता दिन्छु। लज्जावती झार बन्नुपर्ने कुरै छैन!”

पडोसको बिहारमा लालुजीको बहार छायो भन्दैमा कांग्रेसको आँगनमा खुमबहादुर ‘दाइ’ को पुनरागमनलाई फगत संयोग सावित गर्ने प्रपञ्च चलेको देख्दा उदेक लाग्छ। समयको भेट्नो छामेर ‘दाइ’ को अभ्युदयका लागि उनलाई भोट हाल्ने ऐतिहासिक कार्यभार पूरा गर्ने सकल दर्जाका कांग्रेसजनलाई साधुवाद दिन छाडी उल्याउन खोजिंदैछ।

यो भनेको कांग्रेसलाई अधोगतिमा पुर्‍याउने प्रयास हो। यस्ता दुष्प्रयासी धुपौरेहरूसँग लहसिने कुरै छैन। बजार हल्लामा बहकिएर ‘दाइ’ लाई दोस्रोमा खुम्च्याउने अभागाहरूले उप्रान्त भूलसुधार गर्लान् नै।

कांग्रेसको पुनर्जागरणको लागि पनि खुमबहादुर ‘दाइ’ रूपी घुममा ओत लाग्नुपर्ने अपरिहार्यतालाई अनदेखा गर्दै हायतौबा मच्चाउने लट्ठकहरूले डेढ क्वीन्टल गह्रुँगो माला बोकेर सदरखोर द्वारमा धनुष्टंकार भएको कांग्रेसजनको भावनामा गहिरो चोट पुर्‍याएका छन्। कांग्रेसजन कुरै बुझदैनन्!

पुगिसरी आएका राजनीतिक प्राणीका अघिल्तिर नैतिकताको भाउँतो तेर्स्याएर छ्याकन हान्ने हर्कत अनैतिक हो। सामान्य कर्मचारीहरूले त काठमाडौंमा महल ठड्याएका छन् भने त्यो विघ्न महत्वपूर्ण मन्त्रालय हाँकिसकेका खुमबहादुर ‘दाइ’ ले दुई/चार वटा दरबार खडा गरे त के बिराए? त्यसो गर्न नसके त ‘हाइरार्की’ पनि ‘मेन्टेन’ हुन्न। हुती भए शहरबजारका प्रत्येक घरको ईंटा/ईंटाको हिसाब तेर्स्याउनु नि! तर लोकलाई मालुम छ, त्यस्तो बहीखाता चित्रगुप्तले पनि देखाउन सक्दैनन्। कांग्रेसजन कुरै बुझदैनन्!

गिरिजाबाबुले चिप्लेटी खाँदा नयाँ संविधानले सुमर्नु परेका प्रमुख भारहरूलाई होलो पार्ने उद्घोषसहित आएकाले खुमबहादुर ‘दाइ’ नेतृत्वको कांग्रेसमा पुनर्जागरणको सुके लुतो सकसकाउनु एउटा सुखद् संकेत हो। गणतन्त्रको विषयमा अहिले केही नबोले पनि हिन्दू धर्म नेपालको चिनारी भएको ‘दाइ’ को ठम्याइ छ।

एक गोलीमा दुई शिकारको सपना देख्ने अव्यावहारिकतावादी हुन्। समझ्दारहरू एउटा शिकार थन्क्याएपछि मात्र अर्कोको खोजीमा लाग्छन्। त्यसैले, ‘दाइ’ को नेतृत्वमा धर्मनिरपेक्षताबाट श्रीगणेश गरे’सि बाँकी शिकार क्रमशः हुँदै जाला। कांग्रेसजन कुरै बुझदैनन्!

प्रजातान्त्रिक समाजवाद अहिले बाँदरको पुच्छर भएको छ। त्यसलाई बोक्दा कांग्रेस– कांग्रेस जस्तो देखिन्न। फेरि, महाधिवेशन प्रतिनिधि बन्नैका लागि लाखौं/करोडौं बुत्याउन समेत तत्पर कार्यकर्तालाई ‘मन तुल्बुलाएमा एक मुठी माटो मुठ्याएर सोध्नू’ जस्ता डायलग मारेर ‘इमोसनल फूल’ बनाउन अब सम्भव छैन।

यस्ता हतियार भिरेर चुनावी मोर्चामा कसरी सिंगौरी खेल्ने? त्यसैले, अजेन्डाविहीन भई अस्तित्व धान्न नसकिने हुँदा कांग्रेसले एउटा घच्चीको हतियार भिर्नैपर्छ। जातपातको बिर्ता छलाङवादीहरूले हड्पेको सन्दर्भमा खुमबहादुर ‘दाइ’ ले धर्मको पुच्छर अँठ्याएर कांग्रेसलाई वैतरणी पार गराउन खोज्नुभएको छ। कांग्रेसजन कुरै बुझदैनन्!

प्राचीन युनानी सभ्यताको उपलब्धिलाई धर्मभीरुहरूको चरणमा बिसाएर मध्यकालीन निद्रामा घुरेका युरोपियनहरू पुनःजागृत भए’सि गौरवपूर्ण क्रान्ति, स्वतन्त्रता संग्राम, धर्मसुधार आन्दोलन तथा कृषि एवम् औद्योगिक क्रान्ति गर्दै आधुनिक संसारको जग बसाले।

नयाँ नेपालको जग खन्न पनि कांग्रेसजनको पुनर्जागरण अनिवार्य शर्त हो। तर, जागेका मान्छेहरूको पुनर्जागरण कसरी हुन्छ? त्यसका लागि त जागेको मानिस दीर्घ निद्रामा लेटेर पुनः ब्यूँतिनुपर्छ, अनि पो पुनर्जागरण! तसर्थ, नयाँ संविधानका उपलब्धिलाई टोकेर उग्राउँदै ‘हाइवरनेसन’ मा पसारो नपरेसम्म कांग्रेसजनको पुनर्जागरणको सम्भावना हुँदैन। कांग्रेसजन कुरै बुझदैनन्!

न्यायिक सनासोमा चेपिंदा पनि नरोकिएको खुमबहादुर ‘दाइ’ को वेगलाई रोक्ने पिताम् कांग्रेसभित्र अब कसैमा छैन। नीति, सिद्धान्त र मुद्दामा खिनौटिंदो कांग्रेसलाई पोटिलो बनाउने पाइनवाला व्यक्ति खुमबहादुर ‘दाइ’ नै हुन्। कांग्रेसजन कुरै बुझदैनन्!

तसर्थ धर्मको फेरो समातेर पुनर्जागरणको अभ्यासमा कांग्रेस तत्काल जाओस्। र, सतर्क कति मात्र रहुन् भने मोदीआइनको बारीमा रोपेको रूखलाई गाईले निमोठ्न चाहिं नभ्याओस्! कांग्रेसजन कुरो बुझून्!

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>