समाचारबिहीबार, चैत्र १८, २०७२
केन्द्रीय समिति बढाउने देउवाको तयारी
पार्टी विधान संशोधन गरेर संसदीय दलको निर्वाचन गराउन तयार भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मनोनयन गर्नेबारे छलफल अघि बढाएका छन् ।
रामचन्द्र पौडेल पक्षीय नेताहरुले विधान संशोधनको अडान लिएपछि २२ चैतमा दलको बैठक बसेर विधान संशोधन गर्न देउवा तयार भएका हुन् । उनी निकट विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र पूर्णबहादुर खड्काले १८ चैत साँझमा पौडेललाई भेटेर संशोधन गर्न राजी भएको जनाएका थिए ।
१३औं महाधिवेशनलगत्तै कांग्रेसले दलको निर्वाचन गराउन केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा एक समिति नै गठन गरेको छ । समितिले २४ चैतमा संसदीय दलको निर्वाचन गराउने मिति तय गरिसकेको भएपनि विधान संशोधनको अडानले पौडेलले लिएपछि प्रक्रिया अघि बढ्न सकेको थिएन ।
मनोनयनको तयारी
संसदीय दलको चुनावपछि केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनयनको प्रक्रिया अघि बढाउनेबारे देउवाले छलफल अघि बढाएका छन् ।
उनले आफू निकट नेताहरुलाई पौडेल र महामन्त्री शशांक कोइरालासँग यसबारे छलफल गर्न खटाएका छन् । अहिलेको विधानअनुसार तीन पदाधिकारी र १४ केन्द्रीय सदस्य मनोनयन हुन बाँकी छ । सात जना केन्द्रीय सदस्य केन्द्रीय कार्यसमितिको पहिलो बैठकअघि नै मनोनित भइसकेका छन् ।
तर, सभापति देउवाले विधान संशोधनमार्फत केन्द्रीय सदस्य थप्ने तयारी गरेका छन् । केन्द्रीय समितिलाई समावेशी बनाउन र चुनावमा पराजित भएका युवा तथा पुराना हस्तीहरुलाई समावेश गराउन थप १० जना केन्द्रीय सदस्य बढाउने तयारी भइरहेको देउवा निकट एक नेताले बताए ।
अहिलेको विधानअनुसारको १४ मनोनित केन्द्रीय सदस्यमा समुदायगत रुपमा प्रतिनिधित्व हुनै नसकेका र न्यून मात्रामा भएकाे मगर, राई, थारु, दलित, मधेशी र महिला ल्याउनुपर्ने भएकाले अन्यलाई अटाउन केन्द्रीय समिति बढाउने प्रक्रिया अघि बढाइएको हो ।
त्यसका लागि सभापति देउवाले खुल्लातर्फको २५ मा उम्मेदवार बनेर पराजित भएका ३५औं नम्बरसम्मकालाई केन्द्रीय सदस्य मनोनित गर्नेबारे छलफल अघि बढाएका छन् ।
विधान संशोधनमार्फत यही तयारी अनुसार केन्द्रीय सदस्य थप गरिएमा पद्मनारायण चौधरी, उदयशमशेर राणा, जीपछिरिङ लामा, डिना महालक्ष्मी उपाध्याय, अशोक कोइराला, मनमोहन भट्टराई, गोविन्दराज जोशी, गोविन्दराज पोखरेल, रामहरि खतिवडा र तारानाथ रानाभाट मनोनित हुनेछन् ।