रमझमसोमबार, मंसिर १८, २०६९

सन्तुलित समालोचना

हिमालखबर

युगकवि सिद्धिचरणः
कृति र प्रवृत्ति विश्लेषण
लेखकः गोपी मैनाली
प्रकाशकः दायित्व वाङ्मय प्रतिष्ठान
पृष्ठः १३८+१४,
मूल्यः रु.१७५

युगकवि सिद्धिचरण श्रेष्ठको कवित्वमाथि कलम चलाएका गोपी मैनाली भने पहिलो कोटिकै समालोचक बनेका छन्। युगकवि सिद्धिचरणः कृति र प्रवृत्ति विश्लेषण नामको पुस्तकमा मैनालीले नेपाली कवितामा स्वच्छन्दतावादी धार भित्र्याउनेमध्येका एक सिद्धिचरणको कवित्व, रचनागर्भ र रचनाको सान्दर्भिकतामाथि विभिन्न आयाममा चर्चा गरेका छन् ।

किताबमा नेपाली कवितामा सिद्धिचरणको उपस्थिति, उनीसँग समकालीन र उत्तरवर्ती कविहरूको तुलना तथा उनको समग्र काव्यकर्म सम्बन्धी आठ समालोचना छन्। मैनालीले सिद्धिचरणका कवितामा देवकोटा, लेखनाथ र समका स्वच्छन्दता, शास्त्रीयपन र बौद्धिकताको संयोजन भएको दृष्टिकोण राखेका छन्। लेखकले सिद्धिचरणको उर्वसी खण्डकाव्यलाई मनोवैज्ञानिक अन्तर्द्वन्द्व र त्रासदीको उत्कृष्ट अभिव्यक्ति भनेका छन्। किताबमा सिद्धिचरणका प्रतिनिधि कविताहरूदेखि विश्वव्यथा शोककाव्यसम्मको मिहिन विश्लेषण छन्। सिद्धिचरणका काव्यबारे उनका पूर्ववर्ती समालोचकहरूले गरेका अधिमूल्यन र अवमूल्यनमा मैनालीले तर्कपूर्ण असहमति राख्दै नयाँ कसीमा मूल्याङ्कन गर्न खोजेका छन्। उनले युगकविका कविताहरूमा प्रचुर मात्रामा भाव संप्रेषण, विचार प्रवाह र काव्यकला भएको विचार राखेका छन्।

सिद्धिचरणलाई अन्य विभिन्न कविसँग तुलना गरेर पाठकसमक्ष निर्णायक धारणा राख्ने आँट लेखकले गरेका छन्। धेरै उदाहरण, क्लिष्ट भाषा र जब्बर शब्दविन्यास यो कृतिको शक्ति र कमजोरी दुवै हो। नेपाली वाङ्मयप्रेमीहरूका लागि यस्ता किताब पठनीय र सङ्ग्रहणीय हुने नै भयो।

रमेशकुमार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>