समाचारशुक्रबार, चैत्र १९, २०७२
दृष्टि गुम्यो, जीवन मिल्यो
-सहिना श्रेष्ठ
गीत बज्यो कि नाचिहाल्नुपर्ने स्वभावकी सृष्टि केसीका लागि नृत्य नै अभिव्यक्तिको एकमात्र माध्यम थियो। तर, जब उनी कक्षा ८ मा पुगिन्, आँखामा संक्रमण देखियो। लामो समयसम्म औषधि प्रयोग गर्दा उनलाई जलबिन्दुले समायो। १६ वर्षमै उनले दृष्टि गुमाइन्।
“आँखा देख्न छोड्दा शुरुमा धेरै डर लागेको थियो”, उनी भन्छिन्, “तर, विस्तारै आँखाको ज्योति मात्रै गुमाएको हो, हात–खुट्टा त छ नि भन्ने लाग्न थाल्यो।” आँखा नदेखे पनि नृत्यमा उनको रुचि उस्तै थियो। तर, कुनै इन्ष्टिच्यूटले सृष्टिलाई नृत्य सिकाउन मानेन।
यतिसम्म कि उच्च शिक्षाका लागि क्याम्पसले भर्ना समेत लिएन। “निजी कलेजले मलाई बोझकै रूपमा लिए”, २५ वर्षीया सृष्टि भन्छिन्। पद्मकन्या क्याम्पसमा पढाइ थाल्दा उनी झनै आत्तिइन्, किनभने ब्रेल भाषा उनका लागि वेग्लै संसार थियो।
“अनि साथीभाइ र आफन्तको सहयोगमा मैले सबै पाठ रेकर्ड गरें, सुनेर बुझ्न थालें”, उनी भन्छिन्। पढाइप्रतिको उनको अथक् मिहिनेतले प्रवीणता प्रमाणपत्र तहमा नेपाल छात्रा विद्या पदक र स्नातकमा अर्जुन स्वर्ण पदक पनि जितिन्।
दृष्टिविहीनका पक्षमा बोल्नेले पनि शिक्षा र रोजगारीको मात्रै कुरा गरेको सृष्टिलाई चित्त बुझेको छैन। उनको भनाइमा दृष्टिविहीनलाई समाजसँग घुलमिल हुने सीपको अझ बढी आवश्यकता छ।
यही मान्यता र अनुभवका आधारमा उनले ब्लाइन्ड रक्स संस्था खोलेकी छन्, जसले दृष्टिविहीनका लागि नृत्य, फेशन, खेलकुदसँगै विविध सीपमूलक तालीम दिन्छिन्। ‘अन्धालाई शारीरिक हाउभाउ, पोस्टर, अनुहारको भावाकृति र नाचगान किन चाहियो?’ ब्लाइन्ड रक्स सञ्चालन थाल्दाताका उनलाई धेरैले प्रश्न गरेका थिए। जसको जवाफ कुराले होइन, कामले दिने उनको अठोट छ।
दृष्टिविहीनका लागि भारत, पोल्याण्ड, रुस, फ्रान्स, नर्वे र हङकङमा समेत विभिन्न खाले कार्यशाला गर्न भ्याएकी सृष्टि दृष्टिविहीनलाई समाजका सक्रिय सदस्य बनाउन चाहन्छिन्।
हाल नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा नृत्य र अभिनय अध्ययन गरिरहेकी सृष्टिले नेपालमा दृष्टिविहीनका लागि आर्ट स्कूल खोल्ने लक्ष्य लिएकी छन्। “मैले आँखाको ज्योति गुमाएर जिन्दगीको दृष्टि प्राप्त गरें”, उनी भन्छिन्, “अवसरहरू हामी वरिपरि नै हुनेरहेछन्। पुग्नलाई प्रयास गरे पुग्दोरहेछ।”