थप समाचारशुक्रबार, चैत्र १९, २०७२
दमदार दवाडी दिदीबहिनी
नारायणी (२९) र सुनिता दवाडी (२७) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन अपरेटरका रूपमा काम थाल्दा बाँकी सहकर्मीको व्यवहार नै फरक थियो। कारण, दवाडी दिदी–बहिनी जन्मजात दृष्टिविहीन थिए।
“हामी बोझ् बन्छौं भन्ने लागेको थियो होला”, नारायणी सम्झन्छिन्, “त्यसैले आफूलाई प्रमाणित गर्नैपर्छ भन्ने प्रण गरेका थियौं।” धरानस्थित पूर्वाञ्चल ज्ञान चक्षु विद्यालय र कीर्तिपुरको ल्याबरोटरी स्कूलमा पढेका यी दिदीबहिनीमध्ये नारायणीले डिल्लीबजारको कन्या क्याम्पसबाट स्नातकोत्तर गरेकी छन् भने सुनिता स्नातकोत्तरको शोधपत्र लेख्दैछिन्।
“नपढेको भए हामी यहाँसम्म आइपुग्ने थिएनौं”, नारायणी भन्छिन्, “न त समाजमा के भइरहेछ भन्ने नै हेक्का हुन्थ्यो।” ब्रेलमा पाठ्यपुस्तकको कमी हुनु र परीक्षामा लेखक खोज्नुपर्ने झन्झटबाट भने उनी आजित छिन्।
दवाडी दिदी–बहिनीको कामबाट प्रभावित विमानस्थल प्रशासनले दृष्टिविहीनका लागि थप आठ पदमा भर्ना खोलेको छ। योसँगै सहकर्मीको आफूहरूलाई हेर्ने दृष्टिकोण पनि फेरिइसकेको नारायणीको अनुभव छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
