अन्तर्वार्ता/विचारशुक्रबार, चैत्र १९, २०७२

‘केही लेखकलाई आफ्नो ‘सत्ता’ गुम्ने पीर छ’

हिमालखबर

Buddhi Sagarबुद्धिसागर, लेखक

‘फिरफिरे किताब यात्रा’ मा पूर्व–पश्चिम घुमेर आउनुभयो । पाठकको प्रतिक्रिया कस्तो पाउनुभयो ?
साह्रै राम्रो प्रतिक्रिया पाएँ । जसले मलाई अर्को पुस्तक लेख्ने ऊर्जा दिएको छ । किशोरकिशोरीदेखि वृद्धवृद्धासम्मका कुरा सुन्न पाएँ । उहाँहरूले रुचिपूर्वक फिरफिरे पढ्नुभएको रहेछ ।

घुम्दाका सबैभन्दा मीठो र तितो क्षणलाई कसरी सम्झनुहुन्छ ?
कक्षा नौमा पढ्ने एक पाठक झापामा अठार किलोमीटर साइकल यात्रा गरी मलाई भेट्न आउनुभएको थियो । अर्का एक जनाले अहिले तँ देश घुमेर फिरफिरे बेच्दै छस्, अब अर्को किताब बेच्न तँलाई क्यान्सर लाग्नुपर्छ भनेर साह्रै अमानवीय मेसेज पठाए ।

उता तपाईं घुमिरहँदा यता समीक्षक हरि अधिकारी आफ्नो अन्तर्वार्तामा ‘फिरफिरे मा तपाईं नराम्ररी फसेको’ आरोप लगाइरहनुभएको थियो, खगेन्द्र संग्रौलाको सार पनि यस्तै थियो, तपाईंको प्रतिक्रिया ?
पुस्तक बजारमा आएपछि अनेकथरी पाठकीय टिप्पणी आउँछन् । उहाँहरूले आफ्नो स्वभाव अनुसारको टिप्पणी गर्नु भा’को होला । प्रेममा पो राम्ररी फस्ने हो, घृणामा त नराम्ररी नै फस्ने हो ।

तर, फिरेफिरे मा तपाईंले फेरि कर्नाली ब्लुज मा जस्तै पीडा बेचेको समीक्षा पनि आएका छन्, बाँसबारीमा मुस्कानको अंश नै थिएन त ?

पुस्तकमा त्यति कुरा मात्र छैन । फिरफिरे मैले एउटा ‘रंग’ मा लेखेको हुँ । बाहिरतिर सम्पूर्ण पुस्तक कुन रंगको छ भनेर पनि मूल्यांकन गरिन्छ । मैले उदासीको रंगमा फिरफिरे लेखेको हुँ ।

हैसियत अनुसार सबैले केही न केही बेचिरहेका छन् । कसैले शक्ति बेचेका छन् भने कसैले क्रान्ति । कसैले सपना बेचेका छन्, कसैले आशा । तर, पीडा कसले किन्दो होला र ? तैपनि मलाई पीडा मात्रै बेच्यो भन्ने आरोप सुन्दा म गम्भीर हुन्छु ।

बोक्सी युगौंदेखि चलिआएको अन्धविश्वास हो । यस्तो हिंसालाई पीडा मात्रै भनेर बेवास्ता गर्ने ? नेपाली साहित्यमा बोक्सीका नाममा हुने हिंसाबारेको उपन्यास कसले लेखेको छ ? मैले लेखें । लेखक हुनुको दायित्व पूरा गरें । एउटी महिलालाई सारा गाउँले मिलेर दिसा खुवाएर गाउँ निकाला गर्ने, हत्या गर्ने ठाउँमा दशैंतिहार वा अन्य चाडमा कोही नाँच्छन् भने मलाई त्यसको मतलब छैन । म स्वस्थ शरीरभन्दा घाउ लागेको शरीरबारे लेख्न मन पराउँछु ।

सप्पै कुरा मैले नै लेख्ने हो र ? भनी लेखक उम्कन पनि सक्छन् । तर, यो जवाफ कत्तिको पूर्ण हुन्छ ?

एउटै पुस्तकमा सबै कुरा समेट्न सकिंदैन । नत्र एउटै पुस्तक लेखेर मज्जाले निदाए भैगो । सबै कुरा, सबै विषय एउटै पुस्तकमा तानिएर आउँदैनन् र त लेखकहरू अलग अलग विषयका पुस्तक लेखिरहेका छन् । मेरो त उमेरै धेरै छ, लेख्न बाँकी धेरै कुरा छन्, विस्तारै आउँदै जालान् ।

केही लेखक, समालोचक तपाईंलाई शिल्प, भाषा भएको तर दर्शन नभएको भन्छन्, त्यस्तै हो त ?
होइन । फिरफिरे लाई गहिरिएर हेर्नुभो भने त्यसभित्र भोगाइसिर्जित विचार र मौलिक दर्शन छन् । भोगाइबाट आएका दर्शन र विचार छन्, तर कुनै संघ–संस्था र ‘वाद’ हरूबाट ट्याग लगाइएकाहरू तिनमा दर्शन र विचार देख्दैनन् । मलाई विचार र दर्शनको नाममा ‘कोटेसन’ को भारी बोक्न र बोकाउन मन पर्दैन ।

Buddhisagar

लेखकका रूपमा तपाईंका कमजोरी के के हुन् ? समीक्षकका कमजोरी के के हुन् ? पाठकको बुझाइको स्तरमा पनि समस्या देखाउन सकिएला ?
मेरा धेरै कमजोरी छन् । म ती कमजोरी जित्ने कोशिश गरिरहेको छु । जस्तो कि, बिम्ब र प्रतीक दोहोरिरहने मेरो प्रमुख कमजोरी हो । त्यसलाई सुधारिरहेको छु ।

समीक्षकहरूले आफूलाई लागेको कुरा राख्नुभएको छ । तर्क गर्नुभएको छ । सबैका आफ्ना तर्क र पठनका ‘टेष्ट’ हुन्छन् । समीक्षाकै समीक्षा त के गर्नु र ? सबै आफ्नो ठाउँमा बेसै छन् ।

अहिलेका पाठक सचेत छन् र उनीहरूका हातमा सोसल मिडियाको शक्ति छ । सहजै लेखक र समीक्षकका कुरा पत्याउँदैनन् । मलाई लाग्छ, उनीहरू आफै नपढी कुनै पनि पुस्तकबारे निर्णय गर्दैनन् ।

पछिल्लो समय प्रकाशनगृह व्यावसायिक उद्योग, पुस्तक उत्पादन र लेखक ‘म्यानिक्विन’ जस्तो बनिरहेको तर्कप्रति तपाईं के भन्नुहुन्छ ?

यस्ता बर्बराहट लेखकहरूबाटै आएका छन्, धेरैजसो । केही लेखकलाई आफ्नो ‘सत्ता’ गुम्ने पीर भइरहेछ । र, उनीहरू पाठकलाई लहैलहैको पछिलाग्ने अबुझ जमात जस्तो ठानिरहेका छन् । मानौं, शहर शहरमा लेखकले किताब बोकेर गएपछि किन्नेहरूको ताँती लाग्छ । उनीहरू के बुझ्न सकिरहेका छैनन् भने अहिलेका पाठक संसारभरका कुरा पढिरहेका छन् । उनीहरूलाई असल र खराव छुट्याउन आउँछ ।

‘बुक टुर’का माध्यमबाट अहिले केही लेखकहरू उपत्यका बाहिर पुगिरहेका छन् । म पनि नेपालका विभिन्न ठाउँमा पुगेर फर्किएँ । राजधानीलाई सर्वेसर्वा ठानेर गजधम्म बसेका लेखकहरूले के बुझ्नु पर्यो भने काठमाडौं बाहिरका पाठक पनि सचेत छन् । अब साहित्यको सत्ता केन्द्र काठमाडौं मात्र रहेन ।

अचम्म, लेखनबाट आय आर्जन हुन थालेको पीर पनि लेखकहरूलाई नै पर्न थालेको छ । मानौं, लेखक जीवनकालभर अभावमै बसिरहनु र बुढेसकालमा देशले हेरेन भन्दै कुखुरो झैं क्वार्र क्वार्र गरिरहनुपर्ने जीव हो । समय परिवर्तन भइसकेको छ । साहित्यमा समाज परिवर्तनको नुक्खाहरू दिएँ भन्ने, अनि दुईचार साथीभाइ मिलेर गजबको साहित्य आयो भनेर पिठ्यूँ थप्थपाउने जमाना गएजस्तो लाग्छ ।

अव साहित्यमा उठाएका विषयहरू ‘मास’ मा पुग्न थालेका छन् । साहित्यले उठाएको मुद्दा ‘मास’ ले छलफल गरिरहेका छन् । के यो नराम्रो हो ?  पुस्तक बजारमा आयो भन्नेसम्मको जानकारी दिन प्रचार गर्ने हो । चिज गतिलो भएन भने पाठकले ठेगान लगाइहाल्छन् । रत्नपार्कदेखि सिंहदरबारको सत्तासम्मले आफ्नो प्रचार गरिनै रहेका छन् । कसैको घन्टाले ठूलो आवाज निकालिरहेको छ भने कसैकोले सानो । अहिले ‘म्यानिक्विन’ भनिएकाहरू पछि गएर ‘क्विन’ पनि मानिनसक्छन् ।

तपाईंलाई मन पर्ने र मन नपर्ने लेखक र पुस्तकको केही नाम कारणसहित भन्न सक्नुहुन्छ ?
विषयका विविधताले नयनराज पाण्डे, समाजको अद्यावधिक भाषामा खेल्ने शैलीका कारण नारायण वाग्ले, हरेक अनुच्छेदमा कोटेसन जस्ता लाग्ने वाक्य लेख्ने शैलीका कारण विजयकुमार, भाषाको मिठासले अमर न्यौपाने, तिलस्मी लाग्ने शैलीका कारण कुमार नगरकोटी र थोरै तर शक्तिशाली कविताका लागि मनु मन्जिल र रमेश क्षितिज मन पर्छन् ।

मनुको कविता दुश्मन हाम्रो समयको शक्तिशाली कविता हो । लेखककी स्वास्नीतोदा बाट आख्यानमा आएका प्रगति राई र उमा सुवेदी पनि मन पर्छन् । मलाई मन नपर्ने लेखक र पुस्तक अरू कसैका प्रिय लेखक र पुस्तक हुन सक्छन् ।

एउटा लेखकका रूपमा तपाईं छँदै र नहुँदा पाठकले के भनेर सम्झिरहुन् जस्तो लाग्छ ?
एउटा लेखक थियो, झिना–मसिना कुरा लेखेर झ्याऊ लगाइरहन्थ्यो ।

तस्वीरहरूः विक्रम राई\हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>