समाचारशनिबार, चैत्र २०, २०७२
ट्राफिक नियम नमान्दा… (आठ तस्वीर)
सडक अनुशासन कायम गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरीको छातीमा क्यामरा राखेर ड्युटीमा खटाउन थालेको छ । क्यामराले पाँच मिटरसम्मको आवाज र भिडियो रेकर्ड गर्न सक्दछ । खासगरी लेन अनुशासन पालना नगर्ने चालकलाई लक्षित गरेर यो प्रविधि भित्र्याईएको महाशाखा प्रमुख डिआईजी प्रकाश अर्याल बताउँछन् । उनका अनुसार लेन मिचेर भाग्ने र कारवाहीमा परेपछि ‘मैलै लेन मिचेकै थिएन’ भन्नेहरूलाई प्रमाणको रुपमा भिडियो देखाउने गरिएको छ ।
ट्राफिक प्रहरीले २०७१ माघदेखि सिसिटिभीबाट निगरानी शुरु गरेको थियो । सिसिटिभीबाट निगरानी शुरु गरेको पहिलो महिना ४७१ चालकलाई लेन अनुशासनमा कारवाही गरिएको थियो । छातीमा क्यामरा राखेर निगरानी थालेपछि कारवाहीमा पर्नेको संख्यामा ह्वात्तै बृद्धि भएको छ । एकै दिन ७७७ जना लेन अनुशासनको कारवाहीमा परेको ट्राफिक प्रहरी महाशाखाको तथ्याँक छ । महाशाखाको अभिलेख अनुसार १४ चैत यताको पाँच दिनमा मात्रै २७२४ चालक कारवाहीमा परे ।
लेन अनुशासन किन ?
ट्राफिक प्रहरी प्रमुख अर्यालका अनुसार अधिकाँश दुर्घटना त्यसमा पनि ज्यानै जाने गरिका दुर्घटना लेन अनुशासन पालना नगरेका कारण भएका छन् । उनी भन्छन्, “लेनमा नचलाउनु भनेको विपरीत दिशाबाट आउने र आफ्नो समेत ज्यान जोखिममा राख्नु हो ।”
लेन मिचेका चालकको अनुमति पत्र (लाईसेन्स) ट्राफिक प्रहरीले लैजान्छ । जरिवाना रकम तिरेर ट्राफिक प्रहरीको सचेतना कक्षा लिएपछि मात्रै लाईसेन्स फिर्ता पाईन्छ ।
(महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रकाश अर्यालसँगको अन्तर्वार्ता २१ चैतको साप्ताहिक खबरपत्रिका हिमालमा)
तस्वीरहरूः गोपेन राई
शब्दः सन्त गाहा मगर