समाचारशनिबार, चैत्र २०, २०७२

बारको चुनावमा भोट हाल्न, मन्त्री र सांसदको लर्को

हिमालखबर

Bar Election
नेपाल बार एशोसिएसनको २४ औं कार्यसमिति निर्वाचनमा उपप्रधानमन्त्री भीम रावलसहित चार जना बाहालवाला मन्त्रीले मतदान गरेका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अग्नी खरेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र उद्योगमन्त्री सोमनाथ पाण्डेले पनि २० चैतमा भएको बार निर्वाचनमा मतदान गरेका छन् ।

२५ सदस्यीय कार्यसमितिका लागि ७१ जनाबीच भएको प्रतिष्पर्धामा पूर्व सभामुखहरु सुवासचन्द्र नेम्वाङ, तारानाथ रानाभाट र दमननाथ ढुङ्गानाले पनि मतदान गरेका छन् । त्यस्तै पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, सभासदहरू भानुभक्त ढकाल, पुष्पा भुसाल, रामनारायण बिडारीलगायतले पनि भोट खसालेका छन् । राजनीतिमा सक्रिय भए पनि बार काउन्सिलमा ‘कानून व्यवसायी’ को रुपमा दर्ता भई लाइसेन्स नवीकरण गराउँदै आएकाले उनीहरू पनि मतदाता बनेका हुन् ।

देशभर ९ हजार ५२२ मतदाता रहेकोमा ७ हजार ८४५ ले मात्र मतदान गरेको प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाले जानकारी दिए ।
निर्वाचनले आगामी तीन वर्षका लागि एक अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र १५ सदस्य गरी २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

राजनीतिक दलहरूसँग निकट रहेका कानून व्यवसायीहरू प्यानलै बनाएर चुनावमा लागेका थिए । एमाले, एमाओवादी, राप्रपा नेपाल निकट कानून व्यवसायीको समूहबाट विजयकान्त मैनाली तथा नेपाली कांग्रेस निकटका कानून व्यवसायीको समूहबाट शेरबहादुर केसी अध्यक्षका उम्मेदवार छन् । त्यस्तै मधेशकेन्द्रित दल निकट रहेका अधिवक्ता मनोहर साह र नेमकिपा निकटका अधिवक्ता रामप्रसाद प्रजापतिले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

देशभरका मतदान केन्द्रबाट २२ चैत साँझसम्म मतपेटिका काठमाडौँ आइपुग्ने भएकाले त्यसपछि मात्रै गणना शुरु हुनेछ ।

तुफान न्यौपाने
बारलाई साझा बनाउँछुः मैनाली, सक्रिय बनाउँछुः केसी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>