समाचारआइतबार, चैत्र २१, २०७२
पौडेलले संसदीय दलको नेतामा उम्मेदवारी दिने
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीको संसदीय दलको नेताको निर्वाचनमा उम्मेदवारी दिने भएका छन् ।
पौडेल पक्षीय नेताहरुको आज भएको भेलाले नेता पौडेललाई सर्वसम्मतिबाट संसदीय दलको नेताको उम्मेदवार बनाउने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
२४ चैतमा हुने पार्टीको संसदीय दलको नेताको निर्वाचनमा यसअघि नै सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने निश्चित भइसकेको छ । हालै सम्पन्न पार्टीको १३औँ महाधिवेशनमा पार्टीको सभापति पदमा देउवासँग नेता पौडेल पराजित भएका थिए ।
सभापति देउवा पहिलो संविधानसभामा पार्टीको संसदीय दलको नेताको निर्वाचनमा नेता पौडेलसँग र दोस्रो संविधानसभामा पूर्वसभापति सुशील कोइरालासँग पराजित भएका थिए । काँग्रेस संसदीय दलका नेता सुशील कोइरालाको निधनपछि रिक्त भएको उक्त पदको निर्वाचन हुन लागेको हो ।
निर्वाचन गर्न पार्टीले केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाई निर्वाचनको तयारी गरिरहेको छ ।
नयाँ संविधानअनुसार पार्टीले संसदीय दलको विधान संशोधन गर्न २२ चैतमा संसदीय दल र केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएको छ । रासस