थप समाचारमंगलबार, चैत्र २३, २०७२
एउटै पोतेमा उनिएका दुई संस्कृतिः काठमाडौंका ‘नेवार मुसलमान’
काठमाडौं उपत्यकामा पुस्तौंदेखि बस्दै आएका मुसलमानहरुको नेवारी समाजमा अन्तरघुलन दक्षिण एशियामै उदाहरणीय छ ।
-सिल्की ली
गत साताको एक बिहान भक्तपुरको सुकुल ढोकास्थित आएशा बानुको पसलमा पुग्ने पहिलो ग्राहक थिए– हरियो पोतेमा उनिएको सुनौलो पेन्डेन्ट किन्न पुगेका २८ वर्षीया अधिवक्ता प्रतिक्षा र उनकी आमा ।
चेक रिप्बलिकमा बनेको पोतेका विभिन्न डिजाइनहरु बनाएर बेच्ने भक्तपुरका मुसलमानका ग्राहकहरु करिब सबै हिन्दू नै हुन् । त्यसमा पनि नेवारहरु बढी ।
स्थानीय नेवारीसमाज र संस्कृतिमा पुस्तौंदेखि सौहार्दतापूर्वक बस्दै आएका, नेवारी फरर बोल्ने र नेवारहरुकै संगतमा हुर्केकाले उनीहरु ‘नेवार मुसलमान’ भन्छन आफूलाई ।
“यो व्यवसायमा म हाम्रो परिवारकी छैठौं पुस्ता हुँ,” २३ वर्षीया बानु भन्छिन्, “हाम्रा हजुरबुवाका पनि हजुरबुवाका पालादेखि हामी यहाँ पोते उनीरहेका छौं ।”
बानुका पुर्खा १८ औं शताब्दीमा गोर्खा दरबारका लागि बारुद बनाउन नेपाल आइपुगेका थिए । उनकै सन्तानहरु पछि गोर्खाबाट बसाइँ सरेर भक्तपुरमा व्यापार गर्न थाले । भक्तपुरमा पर्यटक, ग्राहक र व्यवसायीहरुसँग गफिँदै गरेकी बानु स्थानीय नेवारभन्दा भिन्न लाग्दैनन् ।
पाँच वर्षअघि बानुका बुवा रोजगारीका लागि साउदी अरब गएपछि उनले आमाबाट पोते उन्न सिकिन् । “यो सीपमा पोख्त हुन मलाई केही समय लाग्यो, अब त एउटा पोतेको माला पाँच मिनेटमै बनाउँछु,” उनी भन्छिन् ।
चुरा–पोतेको व्यापार गर्ने भएकाले चुरौटे भनेर चिनिने यहाँका व्यापारी मुसलमानहरुका पसल पाटन, भक्तपुर र कामाडौंका पुराना दरबार नजिकै छन् ।
भक्तपुरको सुकुल ढोकामा चुरा, धागो र पोतेका यस्ता पसलहरु करिब १० वटा छन् । त्यस्तै काठमाडौंको इन्द्रचोकमा करिब ३५ र पाटन मंगलबजारमा पनि उत्तिकै छन् ।
“मल्ल राजाका दरबारछेऊ उनीहरुका पसल हुनुले मुसलमान व्यापारीहरुको स्थानीय नेवार समुदाय र तत्कालीन राजाहरुसँग राम्रो सम्बन्ध भएको प्रमाणित हुन्छ,” त्रिभुवन विश्वविद्यालयका प्राध्यापक राजन जोशी भन्छन् ।
काठमाडौं उपत्यकामा करिब २११ ‘नेवार मुसलमान’ परिवार छन् । तीनै मध्ये इन्द्रचोकका गहना व्यापारी मोहम्मद असरफ स्थानीय नेवारले जस्तै नेवारी भाषा बोल्छन् ।
उनले भने, “हामी उपत्यकाका मुसलमानहरु स्थानीय नेवारसँग निकै नजिक छौं ।” गहनाको ब्यापारले मुसलमान र नेवारलाई नजिक्याएको उनको बुझाई छ । “हामी मुसलमानहरु पोते, जेम्स र हिराको कारोबारमा लाग्यौं, नेवारहरु सुनचाँदी, तामाको नक्कासी र व्यापारमा पोख्त भए ।”
२५० वर्षअघि पृथ्वीनारायण शाहले काठमाडौं विजय गरेपछि बसाएको बजारमा पोते बेचिरहेका ४७ वर्षीय अशरफ यो पसल चलाउने छैठौं पुस्ताका हुन् ।
यो गर्विलो विरासतका बावजुद ‘नेवारी मुसलमान’ परिचय अहिले गम्भीर संक्रमणमा छ ।
“मैले आफ्नो छोरालाई यो व्यवसायमा ल्याउँदैछैन,” अशरफ भन्छन, “उनीहरुका लागि थुप्रै विकल्पहरु छन्, यो पेशामा मेरो पुस्ता नै अन्तिम होला जस्तो लाग्छ ।”
नेपालका मुसलमान व्यपारीको इतिहास लेखेका ४९ वर्षीय मोहिदिन खान भन्छन, “बाबुबाजे काममै धेरै व्यस्त भए, नयाँ पुस्तालाई यो व्यवसायमै रुचि छैन ।”
उनको पुस्तक सामाजिक–मानवशास्त्रीय र भाषा सम्बन्धी रेकर्डसहितको काठमाडौं उपत्यकाका मुसलमानहरुको इतिहास हो । लखनौ विद्रोहपछि नेपालमा शरण लिएकी अवधकी रानी बेगम हजरत महलको बारेमा पनि उनको पुस्तकमा उल्लेख छ ।
सेतै दाह्री पालेका ७५ वर्षीय फिरोजुद्दिन खान पाटनको कृष्ण मन्दिर छेउको पसलमा ५० वर्षदेखि चुरा बेचिरहेका छन् । उनी भन्छन, “मेरा ६ छोरा र एक छोरीमध्ये कोही पनि यो व्यवसायलाई अगाडि बढाउने पक्षमा छैनन् ।”
आफ्ना पुर्खालाई पाटनका मल्ल राजाले ब्यापारका लागि बोलाएर यतै बसाएको बताउने खान आफू नेपालमा १६ औं पुस्ताको भएको बताउँछन् । “यो पसल मेरी आमाले चलाउनुहुन्थ्यो, अहिले पनि मुसलमानका ठूला पर्वबाहेक हरेक दिन विहान १० बजेदेखि साँझ ६ बजेसम्म पसल खुलै रहन्छ,” उनले भने ।
रैथानेहरुबाट राम्रै हार्दिकता पाएका उपत्यकाका ‘नेवार मुसलमान’हरु पछिल्लो समय काठमाडौं बसाइँ सरेकाहरुबाट हुने असहिष्णु व्यवहारबाट भने चिन्तित् छन् ।
नयाँ पुस्ता परम्परागत व्यवसायबाट पलायन भएपछि एउटा सम्पदाको लोप हुने त छँदैछ त्यसमाथि सदियौंदेखि स्थानीय नेवारहरुसँग उनीहरुले बनाएको साइनो पनि विर्सिइने पो हो की भन्ने डर छ ।
नेपालका मुसलमान
इसाको १५ औं शताब्दीदेखि तीब्बत र भारतका विभिन्न स्थानबाट पोते, चुरा, बारुद, अत्तर र कपडाको ब्यापारका लागि मुसलमानहरु नेपाल आएका हुन् । नेपालको तराई र पहाडका पाल्पा, स्याङजा, गोर्खा लगायत काठमाडौं उपत्यकामा रहेका मुसलमानहरु अधिकांश सुन्नी समुदायका छन् ।
काठमाडौं उपत्यकाका मुसलमानहरु कश्मिर, उत्तर भारत र तिब्बतबाट आएका हुन् । वंशावलीहरुका अनुसार कश्मिरी मुसलमान काठमाडौंमा राजा रत्न मल्ल (सन् १४८२–१५२०) का पालामा आएका थिए ।
उनीहरुले नै काठमाडौंमा कश्मिरी तकिया मस्जिद स्थापना गरे । काठमाडौंका राजालाई दिल्लीका शासकसँग उर्दुमा पत्रचारका लागि सहयोग गर्नेदेखि अत्तर बनाउने, संगीतकार र चुरा व्यापारीसम्म थिए उनीहरु । यिनैमध्ये धेरैले तिब्बतसम्म पुगेर व्यवसाय शुरु गरे ।
उत्तर भारतका मुसलमानहरु राजा प्रातप मल्ल (सन् १६४१–१६७४)का पालामा काठमाडौं भित्रिए । उनीहरुमध्ये धेरै भारतमा मुगल राज्यमाथि आक्रमण भएपछि भागेकाहरु थिए । उनीहरुले नै काठमाडौंमा जामे मस्जिद बनाए ।
नेपालमा सैनिक हातहतियार निर्माण, कृषि यन्त्र निर्माण, गहना बनाउने कालिगढका रुपमा पनि तत्कालीन शासकहरुले मुसलमानहरुलाई स–सम्मान भित्र्याएका थिए । उत्तर भारतबाट आएका र विशेष गरी चुरा–पोतेको ब्यापार गर्ने मुसलमानहरु चुरौटे भनेर चिनिन्छन् जसमध्ये अधिकांश अचेल कृषि पेशामा छन् ।
सन् १९५० मा तिब्बत चीनमा गाभिएपछि तिब्बत र भारतको लद्दाखबाट समेत मुसलमानहरु नेपालमा बसाइँ सरेको इतिहास छ । त्यसैगरी बांग्लादेश युद्धपछि सन् १९७२ मा पनि मुसलमानहरुको ठूलो संख्या पूर्वी तराईमा भित्रियो ।
मौन अल्पसंख्यक
नेपालमा कुल जनसंख्याको ५ प्रतिशत रहेका मुसलमानहरुले राज्यका निकायहरुमा सामानुपातिक प्रतिनिधित्व नभएको गुनासो गर्छन् ।
विगतमा उनीहरुमाथि हिन्दूहरुले ‘अछुत’ को व्यवहार गर्थे, मुसलमानको हातबाट किनेको चुरा लगाएकी महिला घर पुगेपछि हात धोएर चोखिने गरिन्थ्यो ।
“विगतमा मुसलमानहरु ‘अछुत’ मानिन्थे, क्रिश्चियनहरु जस्तै । हिन्दू बहुल नेपाली समाजमा हामी बाहिरिया थियौं,” कायरोको अलजहर विश्वविद्यालयबाट चिकित्साशास्त्र अध्ययन गरेका ६३ वर्षीय डा रहमत खान भन्छन् । उनी काठमाडौंमा सञ्चालित मदरसा इस्लामिया विद्यालयका अध्यक्ष समेत हुन् ।
त्रिभुवन विश्वविद्यालयका मानवशास्त्री प्रकाश उपाध्यायले लेखेकोे दुई वर्षअघि प्रकाशित ‘मुस्लिम्स अफ नेपाल’ पुस्तकले नेपाली समाजमा मुसलमानहरुमाथिको बहिस्करण बारे प्रकाश पारेको छ ।
पुस्तकका अनुसार हिन्दू बहुल समाजमा रहेका मुसलमानहरुमा एक प्रकारको असुरक्षा भावनाले असंगत मनोविज्ञानको विकास गरेको र यो उनीहरुको जीवनको हिस्सा बनिसकेको उल्लेख छ ।
“नेपालमा कुनै पनि राजनीतिक दलमा आवद्ध नभई मथिल्लो तहमा नियुक्ति पाउन सजिलो छैन तर, म कुनै पनि राजनीतिक दलमा आवद्ध छैन,” राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी भन्छिन् ।
संभवतः संवैधानिक निकायमा नियुक्ति पाउने उनी एकमात्र मुसलमान महिला हुन् ।
नेपालको नयाँ संविधानमा ‘मुस्लिम’ शब्द ६ ठाउँमा लेखिएको छ, दलित, आदिवासी, जनजाति, मधेशी र थारुजस्ता विभेदमा परेका अन्य समूहसँगै ।
“तपाइँ मुसलमानका बारेमा जे पनि लेख्नुहोस तर, राजनीतिक पाटो नछुनु होला । हामीले इतिहासमै धेरै दुख पाइसकेका छौं,” डा. खान भन्छन, “संविधानले सबै नेपालीमाथि बराबर व्यवहार गरेकाले आशावादी पनि छौं ।”
अझ बढी बराबरीको व्यवहार हुने आशा राखेका नेपाली मुसलमानहरुको युवा पुस्ता भने नेपाल दक्षिण एशियामै इस्लामको सामञ्जस्यपूर्ण सह–अस्तित्वका लागि उदाहारण भएको विश्वास गर्छ ।
मदरसा इस्लामिया विद्यालयमा १० कक्षामा अध्ययनरत छात्रा शहेला शेख भन्छिन, “यो धर्मनिरपेक्ष मुलुक हो र यहाँ हामी सबै नेपाली हौं । मुुसलमान भएकै कारणले मैले अहिलेसम्म कुनै विभेद अनुभव गरेकी छैन ।”