समाचारबुधबार, चैत्र २४, २०७२

जाजरकोटः झाडापखाला प्रमावित क्षेत्रमा औषधिको अभाव

हिमालखबर

जाजरकोटको दसेरा–३ स्थित जनप्रिय उच्च माविमा एसएलसी परीक्षा दिन आएका शिक्षक, विद्यार्थी र स्थानीयलाई झाडावान्ताको सङ्क्रमण देखिएपछि उपचार कार्य जारी छ ।

२३ चैत बेलुकासम्म ९९ सय जना झाडापखालाका विरामीको बिरामीको उपचार भएको दसेरा स्वास्थ्य चौकीकी प्रमुख स्वास्थ्य सहायक नविना कडेलले जानकारी दिएकी छन् ।

अहिलेसम्म झाडापखला नियन्त्रण बाहिर नगए पनि अब औषधिको अभाव हुन थालेको उनले बताइन् ।

“जीवनजल लगायतका औषधिको स्टक सकिएपछि छिमेकी सुवानाउलीस्थित स्वास्थ्य चौकीबाट ल्याएर काम चलाएका छौं , साल्मका स्वास्थ्यसहायक रामबहादुर थापालाई पनि बोलाएका छौं,” कडेलले भनिन् ।

सदरमुकाम खलंगाबाट थप औषधि र जनशक्ति मगाएकोमा अहिलेसम्म आइनपुगेको उनले जानकारी दिइन् । “२२ गते नै औषधिका लागि अनुरोध गरेका हौं, २४ गते दिउँसो मात्र औषधि आइपुग्ने खबर आएको छ,” उनले भनिन् ।

झाडा पखालासँगै भाइरल ज्वारोका विरामी बढेको, बिहान एसएलसी परीक्षा केन्द्रमै परीक्षार्थीको उपचार गरिरहनु परेकाले स्वास्थ्य चौकीमा स्थानीयको उपचारमा ढिलाई भएको उनले जानकारी दिइन् ।

औषधि खाँदै परीक्षा दिँदै गरेको बिरामी छात्रा राधिका जैसीले निरन्तरको पखालाले परीक्षा नै बिग्रिएको बताइन् ।
यहाँ पाँच वटा माविका ५०० भन्दा बढी विद्यार्थी परीक्षा दिइरहेका छन् ।

आर्दश मावि लुहादह परीक्षा केन्द्रमा परीक्षा दिइरहेका भैरव मावि मजकोटका विद्यार्थी बिरामी भएपछि उपचारसँगै परीक्षा दिइरहेको प्रहरीले जनाएको छ ।

किन फैलियो झाडापखाला
विद्यार्थीको चापसँगै दसेरामा खानेपानीको अभावका कारण निकै समस्या भएको परीक्षा केन्द्रका केन्द्राध्यक्ष शेरबहादुर अधिकारीले जानकारी दिए ।

चौपाया र मानिसले एकै ठाउँमा पानी खाँदा पानी फोहर भएर चुनौती थपिएका स्थानीयले बताएका छन् ।

निरन्तर खडेरीका कारण मूलमा पानीको स्रोत घट्दै जाँदा स्थानीय एक घन्टा टाढाबाट पानी ड्रममा बोकेर विद्यार्थीलाई खुवाउने गरिएको छ ।

खानेपानीको अभाव हुँदा शौचालयमा समेत पानीको प्रयोग गर्न निकै समस्या भएको स्थानीय होटल सञ्चालकले बताएका छन् ।

नियमित सरसफाइ र हातमुख धुन पनि पानी नपुगेको स्थानीय नरबहादुर खत्रीले जानकारी दिए ।

विद्यार्थी बस्ने ठाउँको अभावमा एउटै कोठामा पाँच जनाभन्दा बढी कोचिएर बस्ने गरेका छन् ।

पाँच सयभन्दा बढी विद्यार्थी र त्यतिकैमात्रामा परीक्षामा सहयोग गर्ने उद्देश्यले गएका अभिभावकको चापले गर्दा बस्ने र खाने ठाउँको समस्या भएको छ ।

यो ठाउँ जाजरकोट सदरमुकामबाट दुई दिनको पैदल दूरीमा छ । यता जगतीपुर परीक्षा केन्द्रमा पनि पानीको अभावमा समस्या भएको अभिभावकले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>