समाचारबुधबार, चैत्र २४, २०७२
सिंघानिया हत्यामा पनि निलम्बित सांसद साहको संलग्नता

सञ्जय साह
जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा निलम्बित सांसद एवम् सदभावना पार्टी उपाध्यक्ष सञ्जय साहको संलग्नता रहेको धनुषा प्रहरीले जनाएको छ ।
मिथिला राज्यको माग गर्दै जनकपुरको रामानन्द चोकमा धर्नामा बसेकाहरुमाथि बम विष्फोट गराएर हत्या गरेको अभियोगमा जेल सजाए भोगिरहेका साहलाई सिंघानिया हत्याको समेत आरोप लागेपछि जनकपुर ल्याइएको छ ।
२२ चैत रातिदेखि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएका साहसँग प्रहरीले बयान लिइरहेको छ ।
सिंघानिया हत्याका अभियुक्त चन्द्रदीप यादवलाई गत साता प्रहरीले पक्राउ गरेपछि यादवको बयानका आधारमा साहको संलग्नता रहेको खुलेको हो ।
सिंघानियाको हत्याको प्रमुख योजनाकार साह नै रहेको निस्कर्ष प्रहरीले निकालेको जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतको दाबी छ ।

अरुण सिंघानिया
स्रोतका अनुसार साहका विरुद्ध जनकपुर टूडे पत्रिकामा प्रकाशित समाचार र साहले सस्तो दाममा फुत्काउन खोजेको जग्गा जनकपुर टुडेका तात्कालीन प्रकाशक सिंघानियाँका कारण हात नपरेपछि उनले सिंघानीयाको हत्या गराएका हुन् ।
सिंघानियाका छोरा राहुलले भने समाचारकै कारण आफ्ना बाबुको हत्या भएको कुरा पत्याउन गाह्रो भएको बताए ।
जिल्ला प्रहरी कार्यालय धनुषाले आज, २४ चैतमा पत्रकार सम्मेलन गरी सिंघानियाको हत्या प्रकरण र त्यसमा साहको संलग्नाता बारे यथार्थ जानकारी दिने बताएको छ ।
१७ फाल्गुन २०६६ मा सञ्चार उद्दमी सिंघानियाको जनकपुरको शिवचौकमा हत्या गरिएको थियो ।
ईश्वरचन्द्र झा, जनकपुर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
