समाचारशुक्रबार, चैत्र २६, २०७२
पोल र तार हेर्दै वित्यो चार वर्ष
गाउँमा ठड्याइएका पोल र तानिएका तार हेर्दा जो कोहीलाई पनि लाग्न सक्छ यहाँ विद्युतको सुविधा छ । तर, चार वर्षदेखि अर्घाखाँचीको सिद्धाराबासी भने यही पोल र तार हेरेर विस्मात मान्दै बस्नु परेको छ ।
तार तानेको चार बर्ष सम्म पनि बिजुली बलेको छैन भन्दा पत्यार नलाग्ला । तर यो अर्घाखाँचीको दुर्गम गाविस सिद्धाराको यथार्थ हो ।
चार वर्षअघि सिद्धारको हर्रे, बर्रे लगायतका गाउँमा विद्युतिकरणका लागि पोल गाडियो, तार तानियो । गाउँले खुशी भए, अब सुविधा हुने भयो भन्दै तर, त्यो सुख विजुलीका तार हुँदै अहिलेसम्म आइपुगेको छैन । बरु उल्टो सन्ताप र आक्रोश बढाएको छ ।
विद्युत प्राधिकरणले पोल र तारको काम सम्पन्न भए पनि ट्रान्सफर्मर राख्ने ठाउँ नहुँदा विजुली आउन नसकेको बताएपछि तीन वर्षअघि नै गाउँलेले ट्रान्सफर्मरका लागि ठाउँ पनि बनाए तर, ट्रान्सफर्मर अझै आएको छैन ।
स्थानीय सामुदायिक वन, गाविस, जिविस र बिद्युत प्राधिकरणको झण्डै रु ८० लाखको लगानीमा पोल गाड्ने, तार तान्ने काम सम्पन्न भएको हो । जसमा सामुदायिक वनको मात्रै रु ४५ लाख लगानी छ ।
प्रेम आचार्य, अर्घाखाँची