समाचारशुक्रबार, चैत्र २६, २०७२
आज पनि प्रधानन्यायाधीशको नाम सिफारिस भएन
भावी प्रधानन्यायाधीश चयनका विषयमा छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठ आगामी १ वैशाखदेखि अवकाश पाउँदै छन् । उनीपछि वरिष्ठतम न्यायाधीश सुशीला कार्की सो जिम्मेवारी पाउने क्रममा छन् । हाल प्रधानन्याधीशका लागि योग्यता पुगेको कार्की मात्रै छन् ।
यद्यपी आजको बैठकमा पनि कार्कीको नाम सिफारिस हुन सकेन । अन्य रिक्त पदहरुमा पनि एकै पटक सिफारिस गर्ने भन्दै बैठक स्थगित भएको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले अर्को बैठक आउँदो आइतबार बस्ने र त्यसमै एकमुष्ठ सिफारिस हुने जानकारी दिए ।
नेपालको संविधानअनुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि राष्ट्रपतिबाट नियुक्त गरिन्छ ।
यस्तै परिषद्को बैठकपछि अहिले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक चलिरहेको छ ।