समाचारशुक्रबार, चैत्र २६, २०७२
चारजना एआईजीमा बढुवा
अवकाश पाइसकेका चार जना डिआइजीलाई सर्वोच्च अदालतको आदेशानुसार सरकारले एआईजीमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को आज, २६ चैतमा बसेको बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु विश्वराज शाही, सुशीलवर सिंहथापा, यादव अधिकारी र परशुराम खत्रीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको हो ।
तत्कालीन गृहमन्त्री बामदेव गौतमको पालामा १३ जना डिआईजीको नाम बढुवाका लागि सिफारिस भएको थियो । तर, सरकारले त्यसबेला ९ जनाको मात्रै बढुवा गर्यो भने ४ जनाले अवकाश पाए ।
अवकाश पाएकाहरु सर्वोच्च गएपछि सर्वोच्चले उनीहरुलाई पनि बढुवा गर्न आदेश दियो । उक्त आदेश अनुसार अहिले चारै जनालाई सरकारले एआईजी बनाएको हो ।
योसँगै नेपाल प्रहरीमा एआइजीको संख्या १३ पुगेको छ ।
उनीहरुलाई सरकारले विशेष दरवन्दी सिर्जना गरेर बढुवा गरेको र उनीहरुले आगामी फागुन महीनामा अवकाश पाएसँगै थपिएको दरवन्दी समेत खारेज हुने सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।