समाचारशनिबार, चैत्र २७, २०७२
पार्टीको आन्तरिक एकता अहिलेको आवश्यकताः अध्यक्ष ओली
नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले पार्टीको आन्तरिक एकतालाई जोड दिए । उनले एमाले एकीकृत रुपमा उभिएकाले संविधान निर्माणदेखि सरकार गठबन्धनसम्ममा सफलता मिलेको बताए ।
अध्यक्ष ओलीले संविधान लागू गर्न एमालेको एकता अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै व्यक्तिगत तुस, गुटगत भावनाभन्दा माथि उठ्न आग्रह गरे ।
बैठकमा उनले सत्तारुढ दलबीचमा कुनै ठूलो विवाद नरहे पनि सञ्चारमाध्यमले अनावश्यक विषय उछालेको जिकिर गरे । अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि १० समूह बनाएर छलफल गर्ने गरी बैठक टुङ्गिएको छ।
१० समूहबाट १० जना टोली नेता छानेर उनीहरुले समूहको रिपोर्टिङ बैठकमा गर्ने छन् । बैठक भोलि ११ बजे पुनः बस्ने गरी टुङ्गिएको छ ।
अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा मधेशी दलले चलाएको आन्दोलनलाई ‘प्रायोजित’को सङ्ज्ञा दिइएको छ । रासस