अन्तर्वार्ता/विचारआइतबार, चैत्र २८, २०७२
‘वनस्पति ऐनले समृद्धिमा योगदान दिनेछ’
स्थापनाको ५६ औं वर्षका अवसरमा २९ चैतमा वनस्पति दिवस मनाइरहेको वनस्पति विभागका महानिर्देशक राजदेवप्रसाद यादव भन्छन्, “वनस्पति ऐनको अभावमा संरक्षणमै समस्या परिरहेको छ ।”
नेपालमा पाइने वनस्पतिको विश्वव्यापी महत्व के कति छ ?
नेपालमा फूल फुल्ने र नफुल्ने गरी ११ हजारभन्दा बढी वनस्पति प्रजातिको पहिचान भइसकेको छ । फूल फुल्ने वनस्पति मात्र ५ हजार ५०० भन्दा बढी छन् ।
विश्वको कुल भूभागको ०.१ प्रतिशत क्षेत्रफल ओगटेको नेपालमा वानस्पतिक विविधता भने ३.२ प्रतिशत रहेको छ । यो भनेको उल्लेख्य विविधता हो । हामी विश्व जैविक विविधताको २५ औं स्थानमा छौं । तीमध्ये पनि नेपालमा मात्र पाइने ३२० भन्दा बढी फूल फुल्ने रैथाने प्रजाति छन् । यी लगायत लेउ, झ्याउ, उन्यू आदिको विविधता पनि उल्लेख्य रहेको छ । सानो भौगोलिक क्षेत्रफल भए तापनि भौगोलिक र हावापानीको विविधताले नेपाल वानस्पति विविधताको क्षेत्रमा विश्वमा सम्पन्न छ ।
वनस्पति संरक्षणमा नेपालका प्रमुख चुनौती के के हुन् ?
नेपालका वनस्पतिहरू घरेलु औषधिको रुपमा परम्परागत तरीकाले प्रयोग हुँदै आएका छन् । तर हालका दिनमा जडीबुटीहरूको बढ्दो विश्वव्यापी माग र व्यापारले गर्दा जंगली वासस्थानबारे संकलन गरी निर्यात चलन बढिरहेको छ । ती निर्यातजन्य जडीबुटीहरूको खेती नगरिनु र जंगलबाट अनियन्त्रित र जथाभावी रुपले संकलन गरी बिक्री गर्नु नै आजको सन्दर्भमा प्रमुख चुनौती हो यिनीहरूको संकलन कार्यको लागि वन ऐन २०४९ र वन नियमावली २०५१ द्वारा नियमन हुँदै आएको तथापि दुर्लभ, लोपोन्मुख र संकटापन्न वनस्पतिहरूको संरक्षणको लागि विशेष ऐन र नियमहरूको खाँचो छ ।
मुलुक संघीय भइसकेको अवस्थामा वनस्पति स्रोतको संरक्षण र सम्बर्द्धन सहजीकरण गर्ने समयसापेक्ष ऐन नियमको आवश्यक छ । यस बाहेकका देशभरिमा वनस्पतिहरूको अध्ययन अनुसन्धानको लागि हाल तीन वटा केन्द्रीय कार्यालय र ७ वटा जिल्ला कार्यालय मात्र र त्यसमा कार्यरत जनशक्ति पनि न्यून रहेको छ ।
यो पनि हाम्रो लागि चुनौतीको विषय हो संरक्षण तथा औषधीय प्रयोगको लागि हामीलाई अध्ययन अनुसन्धानको लागि प्राप्त हुने वार्षिक बजेट पनि न्यून रहेकोले पर्याप्त काम गर्न कठिनाइ छ ।
नेपालको जेठोमध्येको एक वनस्पति विभागले अहिलेसम्म वनस्पति ऐन नपाउनुको कारण के हो ?
नेपालका वनस्पतिहरूको संकलन पहिचान र जडीबुटी निकासीमा सहयोग पु¥याउने उद्देश्यसाथ १९९४ सालमा वनस्पति फाँट स्थापना भएको हो । सोही फाँट विभिन्न आरोह तथा अवरोह हुँदै २०१६ सालमा वनस्पति विभागको स्थापना भएको हो । धेरै पुरानो विभाग भए तापनि हालसम्म ऐन नहुनु हाम्रो यथार्थ हो । यसको लागि विगतका वर्षहरूमा हामीले ऐनको मस्यौदा तयार गरी विभिन्न समयमा ऐन बनाउन कोशिश गर्दै आइरहेका छौं ।
हालसालै पनि वनस्पति स्रोत विधेयक २०७२ तयारी गरी संसद्मा पेश गरिसकेको अवस्था छ । प्रस्तावित विधेयकमा राष्ट्रिय वनस्पति उद्यान, राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ । यस बाहेक वनस्पतिको अध्ययन अनुसन्धान नेपाल फ्लोरा अभिलेख सम्बन्धी व्यवस्था प्रस्ताव गरिएको छ । यस पटक वनस्पति स्रोत ऐन बन्नेमा हामी आशावादी छौं ।
ऐनको अभावमा के–कस्ता समस्या भोग्नु परिरहेको छ ?
वनस्पति ऐन नहुँदा वनस्पतिहरूको अध्ययन अनुसन्धानमा स्पष्ट मार्ग निर्देशन हुनसकेको छैन । अध्ययन अनुसन्धान गरी वनस्पति स्रोतको दिगो सदुपयोग गरेर नेपाललाई आर्थिक योगदान दिन सकिने प्रचुर सम्भावना छ । तर यसलाई हामीले अगाडि बढाउन सकिरहेका छैनौं ।
त्यसैगरी नेपाल सरकारले सन् २०२० सम्ममा नेपालका वनस्पतिहरूको अभिलेख नेपाल फ्लोरा प्रकाशन गर्ने लक्ष्य लिएको छ । ऐन आएपछि सो काम गराउन मार्ग यथेष्ट हुन्छ । त्यस बाहेक वनस्पति र जडीबुटीहरूको अनियन्त्रित संकलन बिक्रीविवरण सहजीकरण गरिनेछ । वनस्पति उद्यानहरूमा परस्थानीय र स्वस्थानीय संरक्षणमा पनि ऐनले सहयोग गर्नेछ ।
यस्तो अवस्थामा वनस्पति दिवस मनाइरहनुको कतिको सान्दर्भिक छ ?
वनस्पति दिवस हरेक वर्ष २९ चैतका दिन वनस्पति विभाग स्थापनाको संस्मरणार्थ मनाउन थालिएको १७ वर्ष भइसकेको छ । हाम्रो विभाग स्थापना भएको ५६ वर्ष भइसकेको छ । ऐन नियमहरूद्वारा स्पष्ट नियम नभए पनि नेपाल सरकार वन तथा भू–संरक्षण मन्त्रालयले निर्दिष्ट गरेको काम अनुसार वानस्पतिक स्रोतको संरक्षण, सम्बर्द्धन र अभिलेखन कार्य गरेको ६ दशक भइसकेको छ ।
हामीले शोध र अनुसन्धानद्वारा प्राप्त गरेको ज्ञान जनतासमक्ष पुर्याउने हेतु पनि यो दिवसलाई हामीले अवसरको रुपमा लिएका छौं । विज्ञानको भाषालाई सर्वसाधारणले बुझ्ने र उपयोग गर्न सक्ने, प्रविधिमा भएको विकासलाई जनतामा समर्पण गर्ने र यस्तो राष्ट्रिय महोत्सव मार्फत विभिन्न निकायमा कार्यरत वा अवकाश प्राप्त वनस्पति विज्ञहरुको प्रयासलाई कदर गर्दै सम्मान गर्नाले युवा पुस्तालाई पनि यस क्षेत्रमा रोजगारी लिन आकर्षित गर्छ ।
यही कुरा जनता, वनस्पतिवज्ञहरु, जडिबुटी तथा गैर काष्ठ व्यवसायी तथा यस क्षेत्रमा चासो राख्ने समस्त वर्गमा समर्पण गर्ने दिनको रुपमा दिवस मनाउन गइरहेका छौं ।