समाचारसोमबार, चैत्र २९, २०७२

संवेदनशील नाकामै कर्मचारी अभाव

सन्त गाहा मगर

Rasuwagadi
२५ चैत बिहान हिमालकर्मी केरुङ–रसुवागढी नाकाको अध्यागमन कार्यालय पुग्दा एक कर्मचारीले सीमा वारपार गर्दा यात्रुले भर्नुपर्ने आगमन र प्रस्थान फारम बाँड्दै थिए । दैनिक औसत ५०–६० चिनियाँ यात्रु नेपाल प्रवेश गर्ने यो नाकामा सामान्य कर्मचारीले गर्ने ठानिएको फारम वितरणको काम गर्ने ती कर्मचारी थिए, अध्यागमन कार्यालयका प्रमुख, ओमप्रसाद पाण्डे ।

१२ वैशाखको महाभूकम्पका कारण चल्तीको तातोपानी नाका बन्द भएपछि यो नाकामा चहलपहल बढेको छ । तर नाकास्थित अध्यागमन कार्यालयमा कर्मचारी अभावमा कार्यालय प्रमुख नै फारम बाँड्ने काममा खटिनु परेको छ । एकजना अध्यागमन अधिकृत, दुई जना नासु र एक–एक जना खरिदार, कम्प्युटर अधिकृत र सह–लेखापाल तथा दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको कार्यालय अहिले प्रमुखसहित दुई कर्मचारीको भरमा चलिरहेको छ । “मन्त्रालय र अध्यागमन विभागलाई कर्मचारी पठाइदिन बारम्बार अनुरोध गरेको छु”, कार्यालय प्रमुख पाण्डे भन्छन्, “तर, सधैं समन्वय हुँदैछ भन्ने जवाफ आउँछ, कर्मचारी आउँदैनन् ।”

भूकम्पपछि नाका नियमित सञ्चालन आएसँगै चार हजार ४०० चिनियाँ नेपाल भित्रिएका र तीमध्ये तीन हजार यही नाका हुँदै फिर्ता भएका छन् । अहिलेसम्म दुई हजार ४७२ जना रसुवावासीले चिनियाँ भूमि प्रवेशका लागि यो कार्यालयबाट ‘पर्मानेन्ट भिसा’ पाएका छन् ।

परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमणका क्रममा भएको ‘चिनियाँ पर्यटकलाई भिसा शुल्क नलिने’ समझ्दारी अन्तर्गत २३ चिनियाँलाई शुल्क नलिई भिसा दिइएको कार्यालयले जनाएको छ । भारतीय नाकाबन्दीपछि यही नाका भएर आएको चिनियाँ अनुदानको पेट्रोलियम पदार्थ भिœयाउन ७५० जना चालक÷सह–चालकलाई प्रवेश पास दिएको कार्यालय प्रमुख पाण्डेले जानकारी दिए ।

सन्त गाहा मगर, रसुवागढी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>