समाचारसोमबार, चैत्र २९, २०७२
स्वास्थ्य सेवा नागरिकको पहुँच बाहिर: राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा आम नागरिकको पहुँच पुग्न नसकेको भन्दै तत्काल सुधार गरिनुपर्ने बताएकी छन् ।
राजधानीमा आयोजित स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दोस्रो शिखर सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले सरकारी लगानी भएका स्वास्थ्य संस्था तथा अस्पतालहरुले दिंदै आएको सेवाका बारेमा प्रश्न उठिरहेकाले गुणस्तर सुधार्नु पर्नेमा जोड दिइन ।
उनले भनिन्, “औषधि अभावका कारण ग्रामिण क्षेत्रका महिलाहरुको प्रसव पीडाले ज्यान जाने गरेका दुःखद घटनाहरु हुने गरेका छन् ।”
स्वास्थ्य सेवा महङ्गो हुँदै गएकाले विपन्न वर्गले अझै उचित स्वास्थ्य सेवा पाउन नसकेको उनको भनाई थियो ।
शिखर सम्मेलन
दिगो विकास प्राप्तिकालागि स्वास्थ्य तथा जनसंख्या अनुसन्धान भन्ने नाराका साथ काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दोस्रो शिखर सम्मेलन शुरु भएको छ ।
तीन दिनसम्म चल्ने सम्मेलनका क्रममा दिगो विकासका लागि वैज्ञानिक तथा सरोकारवाला निकायको भूमिका विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल तथा बहस हुने आयोजक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य–सचिव डा.खेमबहादुर कार्कीले बताए ।
सम्मेलनमा नेपालसहित भारत, बांग्लादेशलगायतका मुलुकका ६ सय भन्दा बढी स्वास्थ्य तथा जनसंख्या विषयका विज्ञ तथा वैज्ञानिकहरुको सहभागिता छ ।
अनुसन्धानकर्ताहरुले स्वास्थ्य सेवा, सरुवा तथा उष्ण प्रदेशिय रोग, नसर्ने रोग, नवजात तथा बाल रोग, मातृ स्वास्थ्य, स्वास्थ्य नीति व्यवस्थापन लगायतका विभिन्न विद्यामा आफ्नो खोज तथा अनुसन्धाका बारेमा ४८ कार्यपत्र प्रस्तुत गर्ने छन् ।
सम्मेलनका क्रममा भएका छलफलबाट प्राप्त सुझावहरु नीति निर्माण, योजना तर्जुमा, कार्यक्रम विकास तथा मूल्याङ्कनमा उपयोगी हुने डा. कार्कीले बताए ।
रामु सापकोटा