रिपोर्टमंगलबार, चैत्र ३०, २०७२

फर्केला मंगलसेनको सातो ?

हिमालखबर

२०५८ सालमा माओवादी हमलामा परेको अछाम जिल्ला सदरमुकाम मंगलसेन सातो फर्काउने सरकारी योजनाको प्रतीक्षामा छ।

-बच्चु बिक

mangalsen_5

तस्वीरहरु : बच्चु बिक

बिहान झिसमिसेदेखि अबेर रातिसम्म चहलपहल। खानाको लागि पालो कुर्ने ग्राहकका लागि राखिएका बेन्चका लस्कर। राति बेड नपुगेर भुईंमै ओछ्याइने चटाइ र च्यादरको चाङ। मध्यराति पल्टिंदा गहिरिने निद्रा। “ती सब कहाँ गए, कहाँ!” ढकारी विमला होटल एण्ड लज सञ्चालक डम्बरबहादुर बुढा (४८) भन्छन्, “मेरो त निद्रा हराएकै १४ वर्ष भयो।”

उनी थाकेर सुतिहाले पनि सपनामा उही रातको भयानक घटना देखेर झल्यास्स बिउँझिन्छन् र त्यसपछि मुटु ढुक्ढुक् भइराख्छ। हुन पनि, ४ चैत २०५८ को राति तत्कालीन नेकपा (माओवादी) ले डम्बरकै आँखा अगाडि मंगलसेनमा भयानक आक्रमण गरेर अछामका प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री, ७७ प्रहरी, ५५ सैनिक, तीन कर्मचारी र दुई सर्वसाधारण गरी १३७ जनाको ज्यान लिएको थियो।

जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय नजिक रहेको होटलबाट उनले थरथर काप्दै त्यो अकल्पनीय दृश्य हेरेका थिए। “त्यसपछिका दिनहरू बडो पीडादायी बने”, डम्बर भन्छन्, “बिहान आएको सेनाको टोलीले माओवादीलाई सघाएको भन्दै दिनभरि बाटोमा सुताएर कुट्यो।”

सेनाले अरूलाई एक दिन मात्र कुट्यो, तर डम्बरलाई ‘आतंककारीहरूलाई खाना खुवाउने’ भन्दै साता दिनसम्म कुटपीट गरिरह्यो, होटलका सरसामान फ्याँकिदियो। उनी साँझ सरसामान भित्र राख्थे, सैनिकहरू बिहान आएर बाहिर फ्याँकिदिन्थे।

त्यो यातनाबाट जोगिन उनी होटल बन्द गरेर ढकारी गाविस–५ बामकाटेस्थित घरतिर भागे। तर, ‘मंगलसेनमा सेना–प्रहरीसँग मिलेको’ भन्दै माओवादीले गाउँमा पनि बसिखान नदिएपछि परिवार लिएर भारतको गुजरात पुगे। “त्यहाँ चार वर्ष चौकीदारी गर्दै उपचार गरें, तर, न कुटाइले बिग्रेको शरीर ठीक भो न त मनको पीडा गयो”, डम्बर बोल्दाबोल्दै अड्किए।

ढकारी विमल होटलका सञ्चालक डम्बर र जउमती बुढा।

ढकारी विमल होटलका सञ्चालक डम्बर र जउमती बुढा।

“अन्यत्र जाने ठाउँ नभएपछि यहीं फर्केको पाँच वर्ष हुन लाग्यो”, उनकी पत्नी जउमतीदेवी बुढाले भनिन्, “न होटल चल्या छ, न मन जाती भएको छ।”

मंगलसेन कारागारमा कार्यालय सहयोगी रहेका रामबहादुर खड्का (५२) माओवादी आक्रमणमा त जोगिए, तर सुरक्षाकर्मीको यातनाबाट बच्न सकेनन्। माओवादीले कारागारबाट आफ्ना कार्यकर्ता भगाएको निहुँमा उनी सेना र प्रहरीको यातनामा परे। घर गएको वेला पनि सुरक्षाकर्मीले सताएको उनी बताउँछन्। आक्रमणको केही दिनपछि सुरक्षाकर्मीले रामबहादुरको मंगलसेन–४ ढल्ले गाउँबाट १५ जनालाई पक्रेपछि त ‘सुराकी’ गरेको आरोपमा माओवादीले पनि पेल्न थाले।

“अब के गर्ने भन्दै श्रीमतीसँग कुराकानी गर्दागर्दै म रोएको पाँच वर्षको छोराले देख्यो”, उनी भन्छन्, “बालखाले ‘बाबा’ भन्दै अँगालो हालेको चौथो दिनमा क्षेत्रीय प्रशासकलाई ‘मलाई दुर्गमतिर पठाइदिनुस्’ भनेर विन्ती गर्न पाँच जनाको परिवारसहित दिपालय पुगें।”

त्यसरी बाजुरा पुगेका उनी तीन वर्ष भयो, मंगलसेन फिरेको। जिल्ला प्रशासन कार्यालय बाजुराबाट जिल्ला आयुर्वेद कार्यालय मंगलसेन सरुवा भएका रामबहादुरले परिवारलाई कैलालीको टीकापुरमा राखेका छन्। “पुर्ख्यौली थलो भए पनि मंगलसेनमा मन ढुक्ढुक् गरिरहन्छ”, उनी भन्छन्, “अब म पनि जाने उतै हो।”

मंगलसेनमा यस्तो ‘ट्रमा’ नभएका भनेका कि बाहिरबाट गएकाहरू हुन् कि त १४ वर्षयता जन्मेकाहरू मात्र।

विक्षिप्त शहर
आसपासका जुपू, बलिगाउँ, कुन्तीबण्डाली र जनालीबण्डाली गाविस मिलाएर मंगलसेन नगरपालिका बनेको एक वर्ष भयो। यसरी बजारबाट नगर बनेको मंगलसेनमा जताततै धूलो र खाल्डाखुल्डी छन्। डोटी–अछाम पीच सडक टुङ्गिने बित्तिकै शुरू हुने यो पहाडी शहरमा गोलीले छियाछिया पारेको विद्युत्का पोलहरूमा तार थपिएका छन्, भत्किएको मंगलसेन दरबार उस्तै छ। “हामी पनि उस्तै छौं, मनका घाउ पुरिएका छैनन्” वडा नम्बर–६ का जनक शाही (६७) भन्छन्।

गोली लागेको विद्युत्को पोल ।

गोली लागेको विद्युत्को पोल ।

माओवादी आक्रमणअघि मदिरा प्रतिबन्धित गरेर चर्चामा आएको मंगलसेनमा आजभोलि सडकमा वल्लोछेउ–पल्लोभित्तो हल्लिंदै हिंड्नेहरूबाट जोगिंदै विद्यार्थी स्कूल गइरहेका देखिन्छन्। राति अबेरसम्म जागा रहने मंगलसेन अचेल सम्साँझै झयालढोका थुनिसक्छ। ठूलो आवाज आउँदा पूरै बजार तर्सिने गरेको कालु सिंह (५४) ले बताए।

“सात/आठ जना चिया खाँदै गर्दा ड्वाङ्ग आवाज आयो, हामी त सबै भागेछौं”, अस्ति होलीको घटना सुनाउँदै उनले भने, “पछि प्रहरी आएर हेर्दा पसलभित्र कसैले टीनमा हिर्काएको रहेछ।”

विकास निर्माणका हिसाबले पनि मंगलसेन १४ वर्षअघिको लयमा फर्किन सकेको छैन। व्यवसायीहरू मंगलसेन छाडेर कैलाली, कञ्चनपुर र नेपालगञ्जदेखि काठमाडौंसम्म सरेका छन्। बजारमा चलेका मोबाइल–कम्प्युटर मर्मत केन्द्रदेखि तरकारी पसल, फेन्सी स्टोर र केश काट्ने सैलूनसम्म भारतीयहरूले चलाएका छन्।

चार वर्षदेखि तरकारी पसल गरिरहेका पिलभित (भारत) का साजिद अहमदले मंगलसेन र आसपासमा केही नपाइने हुनाले चोतो (मूला) र फर्सी समेत धनगढीबाट ल्याएर बेच्ने गरेको बताए। उनले अहिले मूला किलोको रु.४० र फर्सी रु.६० मा बेचिरहेका छन्, जबकि सुदूरपश्चिमका अन्य पहाडी जिल्लाहरूमा यी चिज खासै बिक्रीयोग्य मानिंदैनन्, प्रशस्त हुने भएकोले।

अछाम उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढुङ्गाना माओवादी आक्रमणले उजाड, भग्न र विक्षिप्त बनाएको मंगलसेनमा त्यसयता लगानीका स्रोतहरू बन्द भएको बताउँछन्। उनका अनुसार, माओवादी आक्रमण र त्यसपछि सुरक्षाको नाममा सरकारले देखाएको रवैयाबाट तर्सिएर यहाँका व्यवसायी, सम्पन्न परिवार र जाँगरिलाहरू लाखापाखा लागे। उनी भन्छन्, “१४ वर्ष भयो लगानी र आर्थिक गतिविधि शून्य भएको।”

मंगलसेन आक्रमणमा मालपोत कार्यालय पनि जलेका कारण नामसारी, किनबेच जस्ता जग्गाजमीनको कारोबार रोकिएको छ। लालपुर्जा नहुँदा ब्यांकबाट ऋण लिएर उद्यम गर्ने चलन हराएको छ। माओवादीहरूले अछामलाई २०–३० वर्ष पछाडि धकेलेको उद्योग वाणिज्य संघका अध्यक्ष ढुङ्गाना बताउँछन्। आक्रमणपछि सरकारी कार्यालयहरू सेनाको व्यारेक भएको एक घण्टा माथिको डाँडामा सारिएको छ।

त्यसबाट पनि सर्वसाधारणलाई दुःख नै थपिएको छ। आक्रमणयता मंगलसेनमा नयाँ घर, स्कूल–कलेज केही थपिएका छैनन्। पुरानो अछाम बहुमुखी क्याम्पसमा विद्यार्थी घटेको घट्यै छन्। “पहिले कस्तो भीडभाड हुन्थ्यो”, ढकारी विमला होटल एण्ड लजका डम्बरबहादुर बुढा भन्छन्, “अचेल खाना खाइदिने ग्राहक हुँदैनन्।”

सातो फर्कने प्रतीक्षा
मंगलसेन आक्रमणमा माओवादीतर्फ समेत गरी १९१ मारिए भने २१ जना बेपत्ता भए। त्यसयता सन्नाटा, त्रास र घाटैघाटा छाएको मंगलसेनमा फस्टाएको भनेको धामीझाँक्री र ज्योतिष व्यवसाय हो।

ज्योतिष जनकबहादुर खड्का।

ज्योतिष जनकबहादुर खड्का।

बजारको पूर्वी छेउमा रहेको ‘श्री भाग्येश्वर ज्योतिष’ मा बिहानदेखि साँझ्सम्म घुइँचो हुन्छ, जहाँ ‘ज्योतिष’ जनकबहादुर खड्काले ‘झारफुक गर्ने, मानसिक रोग ठीक बनाउने, ग्रहदशा शान्त गर्ने, भविष्यवाणी गर्ने, सातो फर्काउने’ सेवा उपलब्ध गराएका छन्।

‘ज्योतिष’ जनकबहादुरले जसरी मान्छेको सातो उड्छ, त्यसैगरी गाउँ–शहरको पनि सातो हराउने बताए। उनले माओवादीले मंगलसेनको सातो टिपेको बताएपछि सोधियो– त्यसो भए तपाईं त्यो सातो फर्काउन सक्नुहोला त?

त्यसपछि उनले चुपचाप तीन/चार पटक पात्रो पल्टाए अनि टेबुलमा छरिएका चामल मुट्ठीमा लिएर आँखा चिम्लिए। “मेरा गुरुले केही भनेनन्, कतै लेखेको पनि भेटिनँ”, करीब डेढ मिनेटमा आँखा खोलेका उनले धीमा स्वरमा भने, “म यो शहरको सातो फर्काउन सक्तिनँ।”

खासमा, मंगलसेन सातो फर्काउने गरिको सरकारी योजनाको प्रतीक्षामा छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...